2026 April 22/ 12:34: 22pm

बनेपा/बागमती टिपर ब्यवसायी संघ बनेपा काभ्रेको नवांै बार्षिक साधारण सभामा टिपर ब्यवसायी र मजदुर संगठनका नेताहरुले ब्यवसायमा भएका समस्याहरुलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् । 
सभामा ब्यवसायीहरुले रुट परमिट, दिउँसो टिपर चलाउन नपाउँदाका समस्या तथा वीमाका सम्वन्धमा सम्बोधन गर्न अनुरोध गरेका छन् । अध्यक्ष प्रेम लामाले ब्यवसायीहरुले संघलाई बुझाउने गरेको तेश्रो पक्ष वीमामा लाग्ने शुल्क बढाउन र खर्च समेत संघले ब्यहोर्न सुझाव दिएको बताउनु भयो । ब्यवसायीहरु दिनदिनै असुरक्षित बन्दै गएकाले ब्यवसायीहरुको सुरक्षाका लागि संघले सशक्त आवाज उठाउन सुझाव दिएका थिए । दिउँसो टिपर चल्न नपाउँदा चालकहरुको समस्या बढेको बताउँदै ब्यवसाय गर्न असहज भएको ब्यवसायीहरुको गुनासो छ । यातायात ब्यवस्था कार्यालय रातको समयमा नखुल्ने, टिपर दिउँसो जान नपाउने ब्यवस्थाले कागजपत्र नविकरण हुन नसकेको गुनासो ब्यक्त गरेका छन् । ‘कार्यालयको प्राविधिक र इन्जिनियरको प्रत्यक्ष रेखदेखमा मात्रै नविकरण गर्ने ब्यवस्था गरिएको छ’–अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘इन्जिनियर र टिपर बीच भेटघाट हुनै संकट छ, कागजपत्र समयमै नविकरण नहुँदा सडकमा अनेक समस्या ब्यहोर्नु परेको छ ।’ लोड टिपर लिएर दिउँसो राजधानी भित्रन नपाउँदा खाली टिपर लिएर नविकरण गर्न जाँदा बल्लबल्ल चल्न पाउने रातिको अवसर गुम्ने डरले चालक नविकरण गर्न दिउँसो जान आनकानी गरेका छन् । दिउँसो खाली टिपर जानलाई प्रहरीले पास उपलब्ध गराउँदै आएको छ । 
‘कार्यालय समयको अघि र पछि उपत्यकाको चक्रपथ भित्र टिपर चलाउन पाउने ब्यवस्था गरिनु पर्छ’–अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘ब्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त ग¥यौं ।’ नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले चार चार महिनामा लिनुपर्ने रुट परमिटलाई संशोधन गरिएको बताउनु भयो । सरकारसँगको छलफलमा एउटै रुटमा चल्ने सवारी साधनलाई लामो समयको रुट परमिट लिने र अन्यत्र जाँदा थप लिनुपर्ने ब्यवस्था गर्न अनुरोध गरिएको कर्माचार्यले बताउनु भयो । बागमती प्रदेशले टिपरलाई लिएको ६३ हजार कर ब्यवसायीको अनुरोधमा संशोधन गरी ३१ हजार बनाए पनि कार्यान्वयन नभएको भन्दै ब्यवसायीहरुले बागमती प्रदेश सरकारको ध्यानार्कषण गराउने निर्णय गरेका छन् । समयमै कर नतिर्दा जरिवाना पनि पर्ने र सरकारको निर्णय पनि कार्यान्वयन नहुँदा ब्यवसायीहरु थप मारमा पर्ने गरेको अध्यक्ष लामाले बताउनु भयो । कार्यक्रममा सचिव नरेन्द्र बादे र कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदनहरु सर्वसम्मतले पास भएका छन् । संघमा ३ सय ९० जना सदस्यका झण्डै ६ सय टिपर छन् । अरनिको राजमार्ग हुँदै राजधानीमा दैनिक १६÷१७ सय टिपर गुड्ने गरेका छन् । टिपरसँगको ठक्करमा घाईते भएका ब्यक्तिको उपचारमा संघ मार्फत ५६ लाख रुपैयाँसम्म भुक्तानी भएको अध्यक्ष लामाले बताउनु भयो । 
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, यातायात ब्यवसायी तथा बलेफी गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष केदार क्षेत्री, केन्द्रिय नेताहरु, यातायात ब्यवसायीहरु, काभ्रे जिल्लामा रहेका विभिन्न यातायात कम्पनीका अध्यक्षहरु वर्ण शाक्य, चित्रबहादुर कुँवर, आत्मराम थापा, राजेश श्रेष्ठ, राजेशसुन्दर सैंजु, बागमती टिपर ब्यवसायी संघा पूर्व अध्यक्ष राजभक्त प्रधान मजदुर नेता दिपक केसी लगायतले ब्यवसायी र मजदुरहरुले भोगेको समस्या समाधानका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताएका थिए ।