जिल्लामा बधाईको ओईरो
बनेपा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व जिल्ला सभपाती, पूर्व सांसद शिवप्रसाद हुमागाईलाई नेपाली कांग्रेसको केन्द्रिय श्रमिक तथा ट्रेड युनियन बिभागको जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले हुमागाईले प्राप्त गरेको जिम्मेवारीको सफलताको शुभकामना ब्यक्त गर्दै बधाई कार्यक्रम आयोजना गरेको छ । २०३५ सालमा जिल्लाको विकट क्षेत्र डाँडापारीको सरस्वती प्रावी घ्याप्लिङ्गमा शिक्षकमा कार्यरत रहँदा रहँदै राजनीतिमा सक्रिय शिवप्रसाद हुमागाई नेपाल विद्यार्थी संघको जिल्ला सभापति, पार्टीको क्षेत्रिय सभापति हुँदै जिल्ला सचिव र सभापति हुनु भएको थियो । जिल्लाका विभिन्न पदहरुको जिम्मेवारीसँगै २०५६ सालको निर्वाचनमा विजयी हुमागाईले केन्द्रिय विभागको सचिवको जिम्मेवारी प्राप्त गर्नु भएको थियो । हुमागाईले ट्रेड युनियन मार्फत देशभर संगठन विस्तार, संगठनको कृयाशिलता र नेपाली कांग्रेसको भातृ संगठन मार्फत पार्टीको राजनीतिलाई थप अगाडी बढाउने बताउनु भयो । पार्टीले दिएको जिम्मेवारी र विश्वासलाई हुमागाईले इमान्दारितापूर्वक पुरा गर्ने प्रतिवद्धता कार्यकर्ताहरु माझ राख्नु भएको थियो ।
राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाबाट राजनीतिमा कृयाशिल ब्यक्तिहरु मध्ये दुई प्रमुख पार्टी नेकपा र नेपाली कांग्रेसमा पछिल्लो समय केन्द्रिय तहमा पुग्ने हुमागाई र पुर्व मन्त्री गोकुल बास्कोटा हुन् । केन्द्रिय राजनीतिमा पहुँच राख्न सक्ने कुशल नेतृत्व भएका नेताहरुको राजनीतिमा थपिएको सक्रियताले जिल्लाभर कार्यकर्ता तथा नागरिकहरुमा उत्साह भरिएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पुर्व केन्द्रिय अध्यक्ष खिलनाथ दाहाल, जिल्ला उपसभापतिद्धय अच्युत पौड्याल र गोविन्द थापा, बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षक महासंघ काभ्रेका अध्यक्ष अश्विन चौलागाई, शिक्षक संघका अध्यक्ष राजेशराज महत, ट्रेड युनियन काभ्रेका अध्यक्ष प्रेमकुमार वाग्ले, सचिव नारायण सापकोटा लगायले बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाभरका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।





