2026 April 22/ 10:50: 19am

पनौती/पनौती क्षेत्रमा गुणस्तरीय एवं व्यवहारिक शिक्षा प्रदान गर्दै आएको अरुणोदय अंग्रेजी माध्यामिक विद्यालयले दोस्रो शैक्षिक प्रर्दशनी आयोजना गरेको छ । 
विद्यार्थीहरुद्वारा विविध शैक्षिक प्रस्तुतीहरु सहित शैक्षिक मेला आयोजना गरिएको थियो । शैक्षिक प्रर्दशनीको उद्घाटन पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । न्यौपानेले विद्यार्थीहरुलाई  पठनपाठनका क्रममा सिकेका विभिन्न विषयका शैक्षिक विषयहरुलाई विद्यार्थीहरुले ब्यवहारीक ज्ञानमा उतार्न सफल भएकोमा विद्यार्थिहरुलाई धन्यबाद दिनुभएको थियो । कार्यक्रममा न्यौपानेले संस्थागत विद्यालयहरु सगं नगरपालिका साझेदारी बन्ने बताउनु भयो । शिक्षामा राज्यको र निजी क्षेत्रको ठुलो लगानी रहेको हुदाँ पनौतीका जनतालाई शिक्षा स्वास्थ्य दिन नगरपालिकाले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । 
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद दाहालले शैक्षिक प्रदर्शनीमा विज्ञान विषय अन्तर्गत रोवोटिक्स, ड्रोन, भुकम्प साइरन, रोप वे, इलेक्ट्रिक फ्यान, सौर्य मण्डल, भ्याकुम क्लिनर, बाइक, पनौती नगरको नक्साङकन, पनौतीका नमुना वस्ती, हाईड्रोलिक ब्रिज लगायतका विद्यार्थीद्धारा निर्मित विषयवस्तु शैक्षिक प्रदर्शनी गरिएको बताउनु भयो । त्यसैगरी शैक्षिक मेलामा पनौतीको साँस्कृतिक सम्पदा झल्कने फोटो प्रदर्शन, सामाग्री प्रदर्शन, चित्रकला, बाजा, कुमारी दर्शन लगायत थुप्रै सामाजिक एवं साँस्कृतिक प्रस्तुती रहेको थियो । प्रर्दशनीमा विद्यार्थीहरुले १ सय ३५ वटा स्टल राखी पनौती नगरका स्थानीयबासी, विद्यालयका विद्यार्थीहरु, शिक्षक समेत गरी ४ हजार भन्दा धेरैले पद्रर्शनी अवलोकन गरेका थिए । दाहालले प्रर्दशनीलाई आगामी बर्षहरुमा निरन्तरता दिने बताउनु भयो । प्रर्दशनीको उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रिय सचिब भिमसेन केसी, केन्द्रिय सदस्य सत्यनारायण श्रेष्ठ, पनौती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाई, पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धसिं थापा, वडा सचिब राजकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रिन्सिपल कृष्ण केसी लगायतका ब्यक्तिहरुले कार्यक्रमले विद्यार्थीहरुलाई जिम्मेवार र दक्ष बनाएको बताउनु भयो । विद्यार्थीहरुलाई यस्ता कार्यक्रमहरु नियमित गराई पनौती नगर स्तरीय नै गर्न सुझाब दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य लक्ष्मण मातांछेले राख्नु भएको थियो । 
कार्यक्रम विद्यालयका संचालक समिति अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।