बनेपा/प्रेस युनियन काभ्रेले स्व.उर्मिला सापकोटाको सम्झनामा बनेपाको चण्डेश्वरी मन्दिरमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख रविन्द्र सिग्देल, महेश पौड्याल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, फोनिजका बाग्मती प्रदेश अध्यक्ष पेमा लामा, प्रेस संगठनका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियनका विभिन्न तहका नेताहरु, पत्रकारहरुको सहभागिता रहेको थियो । बेथान्चोक गाउँपालिका वडा नम्वर १ साविक च्याम्व्राङ्गबेशी घर भएकी उर्मिला नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य नवराज सापकोटाकी बहिनी हुन् । २०६६ साल फागुन १५ गते सवारी दुर्घटनामा निधन भएकी उर्मिलाको नाममा पिता गोपालकृष्ण सापकोटाले डाँडापारी पत्रकारिता पुरस्कार प्रेस युनियनको नाममा स्थापना गर्नु भएको थियो । सापकोटाले १ लाख रुपैयाको कोष प्रेस युनियनको खातामा जम्मा गर्नु भएको छ । सोहि कोषमा प्राप्त ब्याजबाट वर्षेनी एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ ।





