धनेश्वर/अभिभावकहरुको वेवास्ता र शिक्षक तथा कर्मचारीहरुको लार्पवाहिका कारण बन्द भएको पनौती नगरपालिका वडा नम्वर ५ धनेश्वरमा रहेको धनेश्वर महादेव प्रावि स्थानीय अभिभावकहरुको प्रयासबाट चालु शैक्षिक सत्र देखि शुभारम्भ भएसँगै अभिभावक र विद्यार्थीहरुको मात्रै नभई विभिन्न संघ संस्थाहरुको चासो र सहकार्य हुन थालेको छ ।
एसओएस बालग्रामले उक्त विद्यालयलाई आफ्नै समन्वयमा शिक्षक समेत उपलब्ध गराउँदै निजी क्षेत्रबाट संचालन गरेका विद्यालयहरुकै दाँजोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी सहकार्य गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा अभिभावकहरु समक्ष र शिक्षक शिक्षिकाहरुले गुणस्तरीय शिक्षाका लागि प्रतिबद्धता ब्यक्त गरेका थिए । विद्यालयमा ४० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । एसओएस बालग्रामका प्रिन्सिपल नरेश्वर आचार्यले एक जना सहयोगी शिक्षक उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । एसओएसमा कार्यरत शिक्षिका बन्दना खड्काले धनेश्वर प्रावीमा रहेका विद्यार्थीहरुलाई अध्यापन गराउने गरी बालग्रामले ब्यवस्थापन गरिदिएको आचार्यले बताउनु भयो ।
कार्यक्रममा बालग्राम निर्देशक सुरेन्द्र अम्गाईले धनेश्वर प्रावीलाई एसओएस बालग्रामकै शैक्षिक क्यालेन्डर अनुसार पाठ्यक्रम, परीक्षा प्रणाली र अध्यापन गराउने बताउनु भयो । समुदायसँगको सहकार्यसँगै बालग्रामले शिक्षक र अन्य शैक्षिक सहयोग उपलब्ध गराउने अम्गाईले बताउनु भयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिरुद्ध थापाले विद्यालयले नीजि क्षेत्रका विद्यालयहरुसँग प्रतिस्पर्धा गर्दै निशुल्क अध्यापनमा झनै गुणस्तर प्रदान गर्ने बताउनु भयो । अभिभावक, समुदाय र सरोकारवाला निकायको सहयोगले बन्द भएको विद्यालय पुनः सूचारु भएको बताउँदै थापाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थीहरुको संख्या दोब्बर बनाउने बताउनु भयो । प्रधानाध्यापक विनोद बस्नेतले अभिभावकहरुले विश्वासमा पठाउनु भएका बालबालिकाहरुको उज्वल भविश्यका लागि गुणस्तरमा कमी हुन नदिने बताउनु भएको थियो ।





