2026 April 22/ 08:56: 55am

धुलिखेल/धुलिखेल नगरपालिका अन्र्तगत लैङ्गिक विकास तथा समाज कल्याण शाखाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवालाहरु बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उपप्रमुख विमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले जिल्लालाई मानव बेचविखन रहित बनाउन जरुरी रहेको भन्दै मानव बेचविखनका समस्या, चुनौती र समस्या समाधान गर्न सक्ने आधारहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काभ्रे जिल्लामा मानव बेचबिखनबाट मुक्त राख्न अभियान संचालन गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारसँगको समन्वयमा मानव बेचविखनका समस्या र चुनौतीका बारेमा जनचेतना जगाउनु पर्ने उहाँले बताउनु भयो । अध्यक्ष एवं उपप्रमुख विमला शर्माले धुलिखेल नगरपालिका भित्रका कोहि पनि बेचविखनमा नपरुन् भन्ने उद्देश्यले वडास्तरीय कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा अधिबक्ता गणेश दाहाल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक कुमारविक्रम थापा, नगरपालिका योजना शाखा प्रमुख पुजा काफ्लेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शाखा अधिकृत विदुर गौतम लगायतले मानव बेचविखनका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला शाखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।