रोशी/रोशी गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा दुईवटा एम्बुलेन्स खरिद गरेको छ । प्रदेश सरकारको १६ लाख र गाउँपालिकाको ५ लाख रुपैयाँमा भन्सार छुट गरी दुईवटा एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति तीर्थ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
रोशी गाउँपालिका वडा नम्वर ५ र वडा नम्वर ११ मा रहने गरी एम्बुलेन्स सञ्चालन समितिको अध्यक्ष दिलदोर्जे लामा र गणेश आले मगर (बले) लाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले एम्बुलेन्स खरिद गर्न जति महत्वपूर्ण छ, रोशीका ग्रामीण भेगका सडक सञ्चालनमा ध्यान दिन उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । एम्बुलेन्सको संरक्षण, व्यवस्थापन र निरन्तरता दिन सबैको दायित्व भएको कुरा उल्लेख गर्नुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले नागरिकहरुको सेवाका लागि एम्बुलेन्स महत्वपूर्ण हुने भएकाले आफैले राखेको प्रस्तावमा गाउँपालिका सकारात्मक भएको बताउनु भयो ।





