2026 April 22/ 10:23: 14am

नमोबुद्ध/नेपाल शिक्षक संघ नमोबुद्धले ३० बर्षभन्दा बढी शिक्षण पेशामा संलग्न ‘दीर्घसेवी’ शिक्षकलाई सम्मान गरेको छ । संघले शिक्षणको स्थायी सेवामा प्रवेश गरेका २७ शिक्षकलाई बधाईसहित सम्मान गरेको हो । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले दोसल्लासहित शिक्षकहरुलाई सम्मान प्रदान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले स्थानीय तहअनुसार पाठ्यक्रम तयार हुन थालेपनि परिक्षा प्रणाली केन्द्रीय भएको भन्दै समानजस्यता नभएको तर्क गर्नुभयो । नगर कार्यसमितिले पूर्णचन्द्र काफ्ले, सुदर्शन खनाल, रमेशप्रसाद खनाल, श्यामसुन्दर श्रेष्ठ, गोकर्ण हुमागाई र विन्द्रनारायण श्रेष्ठलाई सम्मान गरेको हो । कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले वर्तमान सरकार आएपछि भ्रष्टचारले महामारीको रुप लिएको तर्क गर्नुभयो । कांग्रेस जिल्ला सचिव दिनेश लामाले वर्तमान सरकार नेतृत्वमा आएपछि प्राज्ञिक क्षेत्र निराश भएको तर्क गर्नुभयो । प्रदेश सभा क्षेत्र नं १(ख) का सभापति रमेशप्रसाद हुमागाईले अहिलेको सरकार विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नरहेको बताउनुभयो । नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईले पेशाप्रति इमान्दार हुँदाहुँदै पनि आस्थाका आधारमा दुःख दिए महासंघले प्रतिवाद गर्ने बताउनुभयो । शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले संघीयतापछि शिक्षा क्षेत्र मारमा रहेको तर्क गर्नुभयो । सचिव शम्भु घिमिरेले फागुन २४ गते जिल्ला प्रतिनिधीसभा हुने जानकारी दिदै स्थानीय तहका सभा समयमा नै सम्पन्न गर्न सहयोग गरिदिने पार्टी नेतृत्वलाई अनुरोध गर्नुभयो । 
नमोबुद्ध नगरपालिको शिक्षा शाखा प्रमुख जनार्दन रिजालले संघीयतापछि शिक्षा समुह घाँटीमा अड्केको हाड जस्तै भएको तर्क गर्नुभयो । कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले शिक्षक लगायत सबै पक्ष लडेर लोकतन्त्र ल्याएको भन्दै स्थानीय तहसंग डराउनुनपर्ने तर्क गरे । नमोबुद्ध नगरपालिका अहिले ‘गन्हाइरहेको’ तर्क गर्दै विधिले चल्नुपर्ने तर्क गर्नुभयो । कांग्रेस जिल्ला सदस्य दिनेश भुर्तेल, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला, नमोबुद्ध –६ का वडाअध्यक्ष कुलप्रसाद न्यौपाने, जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका अध्यक्ष लक्ष्मी अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका अध्यक्ष कुलचन्द्र खनाल, नेपाल तरुण दल नमोबुद्धका सचिव राजीव खनाल, सम्मानित मध्येबाट पूर्णचन्द्र काफ्ले, स्यामसुन्दर श्रेष्ठलगायतले शिक्षा क्षेत्रबारे चर्चा गर्नुभयो । 
नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिका अध्यक्ष दिनेशप्रसाद अधिकारीले आस्थाका आधारमा शिक्षक माथि थिचोमिचो भए शिक्षक संघ अन्यायका विरुद्ध लड्ने प्रतिवद्धता जनाउनुभयो । सभाले अध्यक्ष दिनेश अधिकारी, सचिव रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ) विजय खनालले पेश गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । नेपाल शिक्षक संघ नमोबुद्ध गत बर्ष बाग्मती प्रदेशमा उत्कृष्ट भएको थियो ।