2026 April 22/ 10:22: 17am

८ करोड ४१ लाखका भवन
कात्तिकेदेउराली/कोशिपारी क्षेत्रकै पहिलो नमुना प्रभा विद्यालयले ८ करोड ४१ लाख ७४ हजार रुपैयाँमा निर्माण भएका तीनवटा आवासिय भवनहरु प्राप्त गरेको छ । भुकम्पबाट क्षति भएका भवनहरुको पुनर्निर्माण पछि विद्यालयले नयाँ भवन प्राप्त गरेको हो । 
    ‘२०१० सालमा स्थापना भएको विद्यालयले भौतिक पूर्वाधारमा फड्को मारेको छ, भुकम्पले नयाँ जीवन प्राप्त गरेको छ’–विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर पन्तले बताउनु भयो–‘प्राविधिक शिक्षाका लागि विद्यालयले प्रकृया शुरु गर्नेछ ।’ संघिय संसदका सांसद गंगाबहादुर दोङ्ग ‘बमध्वज’ले कोशिपारी क्षेत्रको पहिलो विद्यालयलाई भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताउनु भयो । ‘शैक्षिक क्षेत्रको विकासका लागि भौतिक संरचनासँगै गुणस्तरीय र ब्यवहारिक शिक्षा आवश्यक छ’– सांसद गंगाबहादुर दोङ्गले भन्नुभयो–‘बालमैत्री सिकाईका लागि ब्यवहारिक शिक्षामा जोड दिनु पर्छ ।’ राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा) मार्फत निर्माण भएका ३४ वटा कक्षाका लागि तीनवटा विद्यालय भवन छन् । भवनमा १२÷१२ वटा कक्षाका दुईवटा भवन छन् भने १० वटा कक्षा भएको अर्काे भवन छ । भवन भित्र बालबालिका तथा शिक्षकहरुका लागि भान्सा घर, भान्साका लागि आवश्यक पर्ने पसल, डाईनिङ्ग हल, छात्रछात्रा अपाङ्गमैत्री शौचालय, विद्यालय निर्माणका लागि वाल, गेट, कम्पाउण्ड, छात्राबास लगायत रहेका छन् । 
    विद्यालयका प्रधानाध्यापक क्षितिज सुब्बाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो । विद्यालयमा बालमैत्री कक्षा कोठा, फर्निचर, विज्ञान प्रयोगशाला, छात्रामैत्री विद्यालय, पुस्तकालय लगायतका सुविधा छन् । २०१० सालबाट विद्यालयले निरन्तर कोशिपारी क्षेत्रको शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएको पुर्व विद्यार्थी जितराम लामाले बताउनु भयो । ‘हामीले विद्यालयबाट प्राप्त गरेको ज्ञानलाई ब्यवहारमा देखाउने प्रयत्न गरेका छौं’–पूर्व विद्यार्थी लामाले भन्नुभयो–‘पूर्व विद्यार्थीहरुले विद्यालयका लागि केहि योगदान दिने गरी योजना बनाउँदै छौं ।’ २२ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई भौतिक संरचनासँगै नमुना विद्यालयका रुपमा अगाडी बढाउने कसरत गरिरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर पन्तले बताउनु भएको छ । तत्कालिन समयमा प्रभा त्यो क्षेत्रकै नमुना र एक मात्र विद्यालय थियो । अहिले हरेक वडाहरुमा माध्यमिक विद्यालयहरुको पहुँच भए पनि प्रभा क्याम्पस सहितको विद्यालय हो । प्रभा क्याम्पस सहितको संरचनाका लागि अझै सहजता थपिएको उहाँले बताउनु भयो । कार्यक्रममा सांसद रत्न ढकालले कोशिपारी क्षेत्रलाई जिल्लाकै शैक्षिक हबको रुपमा विकास गर्न प्रभालाई सशक्त बनाउँदै अगाडि बढाउनु पर्ने बताउनु भयो । प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरु आयोजना गरेको प्रदेश सभा सदस्य ढकालले बताउनु भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख द्वारिका पोखरेलले विद्यालय पुनर्निर्माणको कार्य तिब्र गतिमा भईरहेको बताउनु भयो । 
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, उपाध्यक्ष तारादेवी गौतम चौलागाई, नेकपा नेताहरु मुुकुन्द गौतम, इन्द्रबहादुर तामाङ, रिता ढकाल, लेखराज गौतम, गैसस महासंघका केन्द्रिय अध्यक्ष जितराम लामा, अनेरास्ववियुका पूर्व केन्द्रिय उपाध्यक्ष दिपक गौतम, शिक्षक नेताहरु, स्थानीय समाजसेवी, पूर्व क्याम्पस प्रमुख चुडाप्रसाद चौलागाई, पूर्व प्रअ बाबुराम पोखरेल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण गौतम लगायतले प्रभा माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।