बनेपा/रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले जिल्लामा कृयाशिल संचारकर्मीहरुका लागि आँखामा लाग्ने रोग र त्यसबाट पार्ने प्रभावका बारेमा जानकारी गराएको छ । नेपालमा आँखाका कारण बर्षेनी अन्धोपन बढिरहेको र त्यसले बालबालिकाहरुको निधन समेत हुने गरेको तथ्याङ्कले देखाएको छ ।
आँखा अस्पतालका अध्यक्ष मधु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्धोपन निवारणका लागि कृयाशिल अभियन्ता तिलगंगा आँखा प्रतिष्ठानका कार्यकार निर्देशक डा. सन्दुक रोईतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रोईतले बालबालिकाहरुबाटै आँखाको हेरचाह शुरु गर्नुपर्ने बताउनु भयो । विद्यालय भर्ना गर्नु अगावै बालबालिकाहरुको आँखा जाँच गरेर भिजन ठिक भएको वा आँखा जाँच गराएको डाक्टरको पत्र बुझाउनु पर्ने अनिवार्य नियम बनाउनु पर्ने उहाँले बताउनु भयो । आँखामा चोटपटक लाग्ने वितिक्कै अाँखा उपचार गराउँदा आँखा बचाउन सकिने बताउँदै डा. रोईतले ढिला गर्दा आँखा नबाँच्ने भएकाले हेलचेक्र्याई नगर्न अनुरोध गर्नु भयो । नेपालमा आँखाको क्षेत्रमा ठुलो प्रगति भएको बताउँदै डा. रोईतले विरामीलाई निशुल्क उपचार गराउनु भन्दा केहि रकम लिएर अपनत्व गराउनु पर्नेमा जोड दिनुभयो । विमा मार्फत आम नागरिकलाई सेवा दिने भनिए पनि राज्यका केहि समस्याका कारण पूर्ण नभए पनि यो ब्यवस्था ठिक भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले बनेपा नगरपालिका भित्र रहेका सबै नगरबासीहरुलाई मोतियाविन्दु न्युनिकरण अन्र्तगत कार्य गरिरहेको बताउनु भयो । दुई वर्ष भित्र ७ सय जना नगरबासीहरुको निःशुल्क नगरपालिकाको सहयोगमा अप्रेसन गरिएको उहाँले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लाबासीहरुका लागि मात्रै नभई अशक्त तथा न्युन आय भएका ब्यक्तिहरुका लागि पनि अस्पतालले दिएको सेवाले आम नागरिक खुशी भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले राज्यले उपलब्ध गराएको सेवामा सहजिकरण हुने गरी विमा कार्यक्रम प्रभावकारी बनाउँदै पत्रकारका आँखा र नागरिकका आँखा दुबै सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष दिनेशराज कायश्थ, सचिव हिरामणी शर्मा, सह सचिव धर्मभक्त प्रधान, प्रशासन विभाग प्रमुख प्रगति श्रेष्ठ थापाले अस्पतालले विभिन्न क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
संचारकर्मीहरुले नेपाल आँखा अस्पतालका संचालक तथा समुदाय आँखा विज्ञ विमल पौड्यालले प्रशिक्षण दिनु भएको थियो । नेपालमा अन्धोपनका समस्याहरु एवं चुनौतीहरु र अन्धोपन निवारणमा पत्रकारहरुको भूमिकाका बारेमा पौड्यालले जानकारी गराउनु भएको थियो । नेपालमा बाहिरी नानीबाट हुने अन्धोपन २०३० भित्र उन्मुलन गर्ने अभियानका बारेमा जानकारी गराउँदै पौड्यालले बालबालिका देखि बृद्ध उमेरम्म हुन सक्ने रोग र त्यसका संक्रमणबाट बच्न हरेक वर्ष एक पटक अनिवार्य आँखा जाच्नु पर्ने विषयमा जनचेतना आवश्यक रहेको बताउनु भयो । १९८० बाट नेपालमा शुरु भएको आँखा सेवाले फराकिलो स्वरुप लिएको बताउँदै उहाँले हरेक १ सय ब्यक्तिमा १ जनालाई हुने गरेको मोतियाविन्दु अहिले घट्दै गएको उहाँले बताउनु भयो । मोतिविन्दु, डायोबेटिक रेटिनोप्याथी, जलविन्दु, आँखामा लाग्ने चोटपटक, खस्रे र रतन्धो प्रमुख कारण भएको उहाँले बताउनु भयो ।





