धुलिखेल/चौथो निर्वाचन दिवस तथा ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धुलिखेलमा प्रभातफेरी तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । समारोह समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला सचिव एवं मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले राजनीतिक परिवर्तन सकिएकाले अब आर्थिक परिवर्तनको समय शुरु भएको बताउनु भयो । प्रजातन्त्र, गणतन्त्रले नागरिकहरुको हक अधिकार सुरक्षित गरेकाले आर्थिक समृद्धीका लागि लाग्ने बेला शुरु भएको उहाँले बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उप सभापति अच्युत पौड्यालले निर्वाचनको निश्पक्षता र प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेस सधै लडिरहने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला निर्वाचन अधिकारी उमेश राई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राख्नु भएको थियो । सरोकारवालाहरुले निर्वाचनको मतदाता शिक्षालाई प्रभावकारी बनाउन र मतदानलाई निश्पक्ष बनाउन सबै पक्षले ध्यान दिनु पर्ने बताउनु भयो । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका १३ तहमा निर्वाचन सम्वन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मीहरु, कार्यालय प्रमुखहरु, नीजि क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।





