2026 April 22/ 07:35: 19am

बनेपा/संघीय प्रहरी इकाई बनेपा १३ मा दरबन्दी भई प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङ्गको कार्यस्थल प्रहरी चौकी अगाडी अरनिको राजमार्ग साँगामा बोलेरोको ठक्करले निधन भएको छ । 
    शुक्रबार दिउँसो साँढे १२ बजे राजमार्ग क्रस गर्न लाग्दा चौकी अगाडी गुरुङ्गलाई भक्तपुरबाट बनेपा आउँदै गरेको बा १९ च १३२३ नम्वरको बोलेरोले ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो । २०५१ साल कार्तिक १ गते देखि प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका गुरुङ्ग साविक नवलपरासी जिल्ला त्रिवेणी गाविस वडा नम्वर ८ का स्थायी बासिन्दा हुन् । प्रहरी जवान हुँदै २०६१ कार्तिक १५ गते हवल्दार हुँदै २०७० जेष्ठ ३१ प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका थिए । सवारी चालक भक्तपुर नगरपालिका वडा नम्वर १० घर भएका ३१ बर्षिय विक्रम जाकिबञ्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङ्गका श्रीमती, एक छोरा र एक छोरी छन् । 
    फागुन ९ गते शिवरात्रीको अवसरमा नासिकासाँगा स्थित आशापुरेश्वर महादेव मन्दिरमा हुने जात्राको ब्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल लामासँग छलफल सकेर गुरुङ्ग अरनिको राजमार्ग क्रस गरी कार्यालय जाँदै गर्दा अत्याधिक स्पिडमा आउँदै गरेको बुलेरोले ठक्कर दिएर गुरुङ्गको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक विशाल लामाले जानकारी दिनुभयो । तत्काल उपचारका लागि धुलिखेल अस्पताल पु¥याईए पनि उपचार नहुँदै गुरुङ्गको निधन भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा शव परिक्षणका लागि लगिएको छ । गुरुङ्गको श्रीमती पूर्व प्रहरी हुन् । घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ । गुरुङ्गको अन्त्येष्टी गरिएको छ ।