2026 April 22/ 07:35: 19am

बाँस्डोल/गणेश भारती माध्यमिक विद्यालयमा अध्ययनरत ६५ जना छात्राहरुलाई बनेपा नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको छ ।
कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले छात्राहरुको स्वास्थ्य ख्याल गरी नगरपालिकाले गत वर्ष नै पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरणको योजना ल्याएको बताउनु भयो । प्राकृतिक रुपमै महिलाहरुलाई महिनावारी हुने भएकाले कति छात्राहरु विद्यालय समेत छाडने गरेकाले अब त्यो समस्याबाट मुक्त भएको बताउनु भयो । उक्त महिनावारीका कारण प्रायः महिलाहरुको पाठेघर समेत विग्रने हुनाले स्वास्थ्यमा ध्यान दिई सेनेटरी प्याडको सहि सदुपयोग गर्न छात्राहरुलाई दाहालले आग्रह गर्नु भयो । नगरपालिका भित्र रहेका २९ वटा सामुदायिक विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १ हजार ३ सय ४२ जना छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिने शिक्षा शाखा प्रमुख श्याम सिं धामीले वताउनु भयो । सामुदायीक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई निशुल्क प्याड वितरण गर्ने नेपाल सरकारको नीति अनुसार गत बुधबार शिक्षा सदन माविबाट छात्राहरुलाई सेनेटरी प्याड वितरण शुरु गरेको र नगरका अन्य विद्यालयमा छिट्टै वितरण गरिने धामीले वताउनु भयो ।
    कार्यक्रममा पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड प्रयोग सम्बन्धि अभिमुखीकरण जानुका सापकोटाले  प्रदान गर्नु भएको थियो  । छात्राहरुलाई प्याड प्रयोग गर्दाका फाईदा, प्रयोग गर्ने तरीकाका बारेमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा वनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुँवर, शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, शिक्षक, लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमनाथ शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो ।