पनौती/पनौती नगरपालिका वडा नम्वर ७ मा निर्वाचित जनप्रतिनिधिहरुले बर्थिङ्ग सेन्टरको पूर्ण संचालनका लागि विभिन्न योजना सार्वजनिक गरे अनुसार त्यसको कार्यान्वयन शुरु गरेका छन् । वडा सदस्य पुरुषोतम कर्माचार्यले बर्थिङ्ग सेन्टर र ल्याब संचालनमा आए लगत्तै पहिलो सेवाग्रहिलाई सहयोग गर्ने उद्घोष गर्नु भएको थियो । वडा सदस्य कर्माचार्यले पहिलो पटक बर्थिङ सेन्टरमा आई बच्चा जन्माउने महिलालाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन सहित सम्मान गर्नु भएको थियो । खानीखोला गाउँपालिका वडा नम्बर ७ मिल्चेका सुस्मिता रुम्बालाई नगद सहित दुई लिटर तोरीको तेल उपलब्ध गराउनु भएको थियो । सोहि कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, वडा अध्यक्ष रामचन्द्र नास्नानी, पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिना लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । बर्थिङ सेन्टरमा नगर प्रमुख न्यौपानेले औपचारीक रुपमा उद्घाटन गरे पछि बर्थिङ्ग सेन्टर संचालनमा आएको थियो । सोहि कार्यक्रममा नेपाल सरकारबाट नियामित गर्भ जाँच गरिए बापत २ हजार ८ सय रुपैया र नगरपालिकाको तर्फाबाट थप १ हजार सुत्केरी भत्ता समेत नगर प्रमुख न्यौपानेले सुस्मिता रुम्बालाई हस्तान्तरण गर्नु भएको थियो । अन्यत्र सुत्केरी हुँदा बच्चा र आमा दुबै असुरक्षित हुने समस्या हुन नदिन बर्थिङ सेन्टरमा नियमित चेक जाँच गरेर सुत्केरी गराउन सफल भएको नगर प्रमुख न्यौपानेले बताउनु भयो । स्वास्थ्य क्षेत्रमा नगरले बिषेश लगानी गरेको उहाँले बताउनु भयो । महिलाहरुको स्वास्थ्य सुरक्षित र नियमित गर्भ जाँचमा जोड दिन प्रोत्साहन स्वारुप रकम दिने घोषणा गरिएको वडा सदस्य पुरुषोत्तम कर्माचार्यले जानकारी दिनुभयो । कर्माचार्यले तीन जना महिलाहरुलाई सहयोग गर्ने घोषणा अनुसार पहिलो महिलालाई सहयोग उपलब्ध गराईएको छ भने अब दुई महिलालाई सहयोग उपलब्ध गराउने बताउनु भयो । ‘समाजमा रहेर केहि गरौ र गर्नुपर्छ भन्ने उद्देश्यले आमा र बच्चा दुबैको स्वास्थ्य सुधार गर्न सहयोग गर्ने योजना बनाएको हुँ’–उहाँले भन्नुभयो ।





