2026 April 22/ 08:42: 03am

पाँचखाल/पलाञ्चोक भगवती मन्दिरलाई ब्यवस्थित बनाउन मन्दिरमा आउने भक्तालुहरुका लागि सहजता बनाउन पार्किङ्गका लागि जग्गा खरिद गर्ने उद्देश्यले सप्ताह आयोजना गरिएको छ । सप्ताहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सप्ताहका बारेमा जानकारी गराईएको थियो । 
पत्रकार सम्मेलनमा सप्ताह मुल आयोजक समितिका संयोजक एवं पाँचखाल वडा नम्वर ९ का अध्यक्ष किरण श्रेष्ठले मन्दिरको विभिन्न कोषमा ४० लाख रकम रहेको र पाँचखाल नगरपालिकाले ३० लाख उपलब्ध गराउने तयारी गरेको बताउनु भयो । सप्ताह मार्फत ५ करोड संकलन गर्ने लक्ष्य लिएको श्रेष्ठले बताउनु भयो । विगत लामो समयदेखि जग्गा खरिदको लागि पहल गर्दा सम्भव नरहेको र हाल पाँचखाल नगरमा पटक पटक वार्तापछि जग्गावालाहरुले चलन चल्तिको मुल्य भन्दा कम मुल्यमा जग्गा दिन सहमति भए पछि खरिदको लागि चन्दा भन्दा अन्य विकल्प नरहेकोले सप्ताहको आयोजना गरिएको उहाँले बताउनु भयो । जग्गा खरिदका लागि १० लाख रकम बैना बापत जग्गावालालाई दिएको उहाँलाई बताउनु भयो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जग्गा खरिदका लागि १ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । मन्दिरकोे उत्तर पुर्वमा रहेको जग्गा खरिदको लागि सप्ताह गर्न लागेको जानकारी दिन गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख खरेलले उक्त आर्थिक सहयोग गरेका हुन ।
पत्रकार सम्मेलनमा मन्दिरका संरक्षक समेत रहेका नगर प्रमुख खरेलले पलाञ्चोक भगवती नेपालकैै महत्वपुर्ण शक्ति पिठ रहेकोले उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको नाउँमा रहेकाले खरिद गर्नुपर्ने बताउनु भयो । व्यक्तिकै भए पनि हालसम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाको लागि सवारी पार्किङ्ग गर्दै आएको भए पनि ब्यक्तिलाई असुविधा नपु¥याउने उदेश्यले जग्गा खरिदको प्रकृया शुरु गरिएको बताउनु भयो । जग्गा खरिदका लागि झण्डै ३ करोड ५० लाख आवश्यक भएकाले सप्ताहको आयोजना गर्न लागेको खरेलले जानकारी दिनु भयो ।  ‘जग्गाको न्युनतम मुल्य प्रति आना १४ लाख सम्ममा खरिद विक्री भएको अवस्थामा जग्गाधनीहरुसँग अनुरोध गर्दा प्रति आना ३ लाखमा दिने सहमति भएको छ’–उहाँले भन्नुभयो– ‘मन्दिरको नाममा हाल १७ रोपनी जग्गा भए पनि मन्दिर हातामा ५ रोपनी मात्रै भएकोले ८१ आना जग्गा खरिद गर्न लागिएको पलाञ्चोक भगवति मन्दिरका नाममा दान गर्नु उत्तम भएकोले सप्ताहमा दान गर्ने दानविरहरुको दानबाट जग्गा खरिद गरी थप व्यवस्थापन गर्नेछौं ।’ पत्रकार सम्मेलनमा सामाजिक अभियन्ताहरु रामशरण रेग्मी, गोरे बहादुर थापा, नेपाली काँगे्रस पाँचखाल नगर समिति सभापति गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो ।