धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोक र जिल्लाका संचारकर्मीहरु बीच अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालले जिल्ला अदालत काभ्रेपलाञ्चोकले न्याय क्षेत्रमा गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सोधपुछका लागि सहजता प्रदान गर्दै नागरिकहरुको सूचना अधिकारीको ब्यवस्था गरिएको बताउनु भयो । अदालतमा पेश गरिने निवेदन लेख्न नसक्नेहरुका लागि निशुल्क निवेदन लेख्ने ब्यवस्था, सेवा लिन कानुन ब्यवसायी राख्न नसक्ने सेवाग्रहीहरुका लागि बैतनिक वकिलको ब्यवस्था, अदालती शुल्क लगायतका विषयमा नागरिक वडापत्रको ब्यवस्था, विचौलिया नियन्त्रण प्रयास गरिएको बताउनु भयो । साथै मुद्दा दर्ता भएकै मितिबाट फैसला हुने मितिसम्मको क्यालेण्डर लागु गर्न शुरु गरिएको जिल्ला न्यायाधीश पुरुषोतम ढकालले बताउनु भयो । न्याय क्षेत्रका विषयमा आम नागरिकहरुलाई सु–सुचित गराउने उद्देश्यले आउटरिच सेवा प्रदान गरिएको छ भने सेवाग्रहीहरुसँग अदालतमै अन्र्तक्रिया शुरु गरिएको छ ।
‘चौथो पञ्च बर्षिय रणनीतिक योजना कार्यान्वयन गर्ने उद्देश्यले अदालत भित्र कार्यतालिका बनाएरै कार्य शुरु गरिएको छ’–जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालले भन्नुभयो–‘न्यायका बारेमा नागरिकको गुनासो आए सिधै सम्पर्क गर्न सकिने ब्यवस्था मिलाईएको छ ।’ अदालतले पुराना मुद्दाहरुलाई सकेसम्म प्रकृया पुगेको अवस्थामा ढिला नगरी फछ्र्याैट गर्न शुरु गरिएको न्यायाधीश भिष्मराज प्रसाईले बताउनु भयो । न्यायाधीश दुर्गा खड्काले अदालतले नयाँ सहिता कानुन तथा अवस्था हेरेर पुरानै कानुनका आधारमा पनि आदेश र फैसला गर्ने भएकाले नागरिकहरुले बुझ्ने भाषामा सूचना सम्प्रेषणका लागि अनुरोध गर्नु भयो । श्रेस्तेदार ठाकुर त्रितालले अदालतले प्रवाह गरेका सेवाहरुका बारेमा आम नागरिकहरुले सहज रुपमा जानकारी पाउन भन्ने उद्देश्यले संचारकर्मीसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको बताउनु भयो । तहसिलदार टेकबहादुर श्रेष्ठले मुद्दा फैसला कार्यान्वयनको अवस्थाका जानकारी गराउनु भएको थियो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले माघ मसान्तसम्म विगो भराउने १ सय ४८ वटा, चलन चलाउने १४ वटा, वण्डा छुट्टयाउने ८३, क्षतिपुर्ति भराउने ३, मानाचामल भराउने २८, अन्य ४ वटा गरी २ सय ८० वटा लगत रहेकोमा १ सय ४ वटा फछ्र्याैट भएका छन् । कैद तथा जरिवना तर्फ कैद असुल गर्न ९ सय ४० वर्ष ७ महिना २६ दिन असुल गर्न बाँकी छ भने ६९ करोड ३६ लाख २३ हजार ९ सय ९९ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । कैदमात्र लागेका २ सय ३४ जना, जरिवाना मात्र लागेका ८ सय ३१ जना र कैद जरिवना दुवै ७ सय ४ जना रहेका छन् ।
जिल्ला अदालतमा ८ सय ८३ वटा मुद्दा फछ्र्याैट हुन बाँकी छ । ८ सय ७४ वटा जिम्मेवारी सरेर आएकोमा ७ सय ३३ वटा नयाँ थपिएका थिए । १ हजार ६ सय ७ वटा मुद्दा मध्ये ४५.०५ प्रतिशत मुद्दा पछ्र्याैट भएको श्रेस्तेदार त्रितालले बताउनु भयो । जिम्मेवारी सरेकोबाट ४ सय ५७ वटा मुद्दा फछ्र्याैट भई लक्ष्य अनुसार ९२.७० प्रतिशत पुगेको छ । निरन्तर सुनुवाई हुने १ सय १६ मुद्दाहरु मध्ये ४६ वटा फछ्र्याैट भई ७० वटा बाँकी छन् । २ वर्ष नाघेका २१ वटा मुद्दा बाँकी छन् । बाल इजलासमा सुनुवाई हुने मुद्दाहरु ५ वटामध्ये २ वटा फछ्र्याैट भई ३ वटा बाँकी छन् । थुनुवा मुद्दाहरुमा १ सय २० जनाको लगत रहेकोमा ६२ वटा फछ्र्याैट भई ५८ वटा बाँकी छन् । दर्ता भएका मुद्दाहरु मध्ये २ सय थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।





