बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक कार्य योजना अनुसार एसईई सम्मान तथा बाल बचत रमाईलो कार्यक्रम गत शनिवार चण्डेश्वरीमा सम्पन्न गरेको छ ।
शिक्षा तथा समाज कल्याण उपसमिति र महिला विकास उपसमितिको संयुक्त संयोजकत्वमा संस्थामा आबद्ध बाल बचतकर्ताहरुको प्रतिभा प्रस्फुटन गर्न र २०७५ सालमा एसईई परीक्षामा उत्तिर्ण बाल बचत कर्ताहरुको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विकास बादेले स्वागत मन्तब्य राख्नु भएको थियो । बादेले संस्थामा आबद्ध बाल बचतकर्ता, अभिभावक, समिति÷उपसमिति सदस्य, सल्लाहकार कर्मचारी र आमन्त्रित बाल बचतकर्ताहरुलाई प्रत्येक बर्ष एसईई परीक्षामा उत्तिर्ण हुनेलाई हौसला प्रदान गर्ने उद्देश्यले बचतकर्ताहरुको प्रतिभा देखाउने मञ्चको रुपमा विगत ३ बर्ष अगाडिदेखि प्रत्येक बर्ष कार्यक्रम गरी बाल बचतकर्ताहरुलाई प्रोत्साहन गर्दै आएको बताउनु भएको थियो । संस्थाले प्रत्येका आर्थिक वर्षको पौष मसान्तभित्र संस्थामा एसईई परीक्षामा उत्तिर्ण हुने र प्रतिभा भएका बाल बचतकर्ताहरुको नाम संकलन गरी कार्यक्रम गर्दै आईरहेको समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा इम्मानुयल बोर्डिङ्ग स्कूल धुलिखेलका विद्यार्थीहरुले सामूहिक रुपमा संगीतको धुन बजाएका थिए भने संस्थाका ४५ जना बाल बचतकर्ताहरुले एकल तथा सामूहिक गान र नृत्य प्रदर्शन गरिएको थियो । २०७५ मा एसईई परीक्षा उत्तिर्ण २२ जना बाल बचतकर्ताहरुलाई कार्यक्रम संयोजक पूर्ण पोटे, अध्यक्ष विकास बादे र सल्लाहकार बालभक्त प्रधानबाट खादा, सम्मान पत्र र मायाको चिनो, स्टेशनरीका सामानहरु प्रदान गरिएको संस्थाका कामु ब्यबस्थापक बद्रीनाथ बादेले बताउनु भयो ।
बाल बचतकर्ताहरुको प्रतिभाका बारेमा सल्लाहकार बालभक्त प्रधानले बालबालिका भविष्यका कर्णधार भएकोले उनीहरुको प्रतिभालाई देखाउने मञ्च भएमा क्षमता विकास गरी विभिन्न क्षेत्रहरुमा अगाडी बढ्न सक्ने अवसर प्राप्त हुनुका साथै संस्थाले बालबालिकाको भविष्यका लागि ल्याएका बचत कार्यक्रमहरुमा सहभागी भई आर्थिक रुपमा सक्षम हुनलाई पनि आब्हान गर्नु भएको थियो ।
कार्यक्रममा २६७ जना बालबचतकर्ताहरुको सहभागिता भएको थियो भने उक्त कार्यक्रम संचालन सुरेन्द्र श्रेष्ठबाट गरिएको थियो ।





