2026 April 22/ 04:11: 01am

बनेपा/विप्लव समुहमा कृयाशिल रहेको अभियोगमा १६ दिन अघि बनेपाबाट पक्राउ परेको पाँचखालका रमण परियारलाई जिल्ला अदालत काभ्रे पलाञ्चोकले २५ हजार धरौटीमा छाड्ने आदेश दिए लगत्तै नेकपामा प्रवेश गरेका छन् । 
रमणलाई नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाई, नेताहरु कुमार थापा, कञ्चन अधिकारी, दैवलाल घिसिङ्ग, राजकुमार श्रेष्ठ, राज तामाङ, युवा तथा विद्यार्थी नेताहरुको सहभागितामा नेकपा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराईएको हो । ‘म २०६४ मा नेकपा माओवादीमा सक्रिय थिएँ, पार्टी विभाजनसँगै बैद्य माओवादीमा प्रवेश गरें, बैद्य माओवादी निश्क्रिय भए सँगै सामान्य जीवनमा रहँदा पक्राउमा परें’–रमणले भन्नुभयो–‘बैद्य माओवादीमा रहँदा प्राप्त गरेको राष्ट्रिय युवा जन स्वयंसेवकको अध्यक्षको हैसियतमा प्रहरीले विप्लब समुहमा रहेका आधारमा पक्राउ ग¥यो ।’ बैद्य माओवादीमा रहँदा गाडी जलाएको अभियोगमा ज्यान मुद्दामा ११ महिना पुर्पक्षमा रहेको र पुनः बैद्यमा निश्क्रिय भए पछि विप्लबमा भएको आशंका प्रहरीले यस अघि पनि पक्राउ गरी २८ दिन हिरासतमा रहेको उहाँले बताउनु भयो । ‘जब जब सामान्य जीवन विताउन प्रयास गर्छु, त्यतिबेला प्रहरी हिरासतमा पर्छु’–उहाँले भन्नुभयो–‘अब नेकपामा रहेर सक्रिय राजनीतिक जीवन जीउने छु ।’ 
पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष रुकु चौलागाईले पार्टीमा प्रवेश गरे सँगै इमान्दार बनी सक्रिय बन्न अनुरोध गर्नु भयो । यस अघि पनि यस्तै घटना भएको बताउँदै अध्यक्ष चौलागाईले हिजो पनि सँगै काम गरेकाले आज पनि सँगै रहेर काम गर्ने अवसर मिलेकोमा बधाई शुभकामना ब्यक्त गर्नु भएको थियो । ‘हामी सरकारमा, साथीहरु हिरासतमा हुँदा नरमाईलो लाग्दो रहेछ’–अध्यक्ष चौलागाईले भन्नुभयो–‘सबै कम्युनिष्ट पार्टीका नेताहरुलाई नेकपामा प्रवेशका लागि आब्हान गर्दछु ।’ पक्राउ परेका परियार पटक पटक पक्राउ परेका नेता थिए । 
पाँचखाल नगरपालिका वडा नम्वर ७ घर भएका रमणलाई भुम्लुमा २०७५ फागुन १० गते एनसेल टाओरमा आगजनी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । नेकपा माओवादी एकिकृतबाट अलग भई बैैद्य समुहमा रहँदा धुलिखेलमा हिडिरहेको बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा परियार केहि महिना जेल बसे पछि निस्किएका थिए । त्यस्तै अन्य अभियोगमा पनि रमण पटक पटक प्रहरी हिरासतमा परेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले सरकारले विप्लब समुहका गतिविधि माथी निशेध गरे पनि चन्दा अभियानमा सक्रिय रहेको सूचनाका आधारमा रमणलाई पक्राउ गरेको बताउनु भएको थियो । पौड्यालले जिल्लामा विप्लब समुहका कानून विपरित गतिविधिलाई निस्तेज पार्ने गरी अभियान शुरु गरेको बताउनु भयो । पक्राउ परेका परियारलाई सार्वजनिक सम्पति माथी हानि नोक्सानी पु¥याएको अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरी पवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिनु भएको छ ।