बनेपा/बनेपाको चण्डेश्वरी मन्दिरको प्राङ्गणमा लाख बत्ती बाल्नेहरु, मन्दिरमा पुजा पाठ गर्न आउने र वनभोज आउने जाने मानिसहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । यही भिडभाड भन्दा फरक दृश्य पनि त्यहाँ देखिन्थ्यो ।
मन्दिरको हाता भित्र र बाहिर चारै तिर हातमा ब्रस, रङ र क्यानभाष बोकेका कलाकारहरु छरिएर बसेका थिए । कोही मन्दिरलाई चित्रमा उतार्न व्यस्त थिए । कोही मन्दिरको वरपरका दृश्यहरुलाई चित्रमा कैद गर्दै थिए । बनेपा, भक्तपुर, ललितपुर र काठमाडौंबाट आएका कलाकारहरु मन्दिर, पाटी, वरपरका साना मन्दिर अनि पारी पट्टीको हरियो जंगल क्यानभाषमा कैद गरिरहेका थिए ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका कलाकारहरु मिलेर हरेक शनिबारको दिन खुला आकाश मुनि बसेर चित्र कोर्न साटर्डे प्लेन एयर वर्कशप नामको समुह बनाए । जसले देशका विभिन्न स्थानमा रहेको प्राकृतिक सम्पदा, पूरा तात्विक महत्व बोकेका स्थानहरु पहिचान गरी त्यहाँको दृश्य क्यान भाष उतार्दै आएको बनेपाका कलाकार रुविन बादेले बताउनु भयो ।
साटर्डे प्लेन एयर वर्कशपका संयोजक दिपेश प्रधानले ऐतिहासिक, धार्मिक, साँस्कृतिक पक्ष, जनजीवन, भेषभुषा, वातावरण, सम्पदा र स्थानीय महत्वलाई स्थलगत रुपमा अवलोकन गरी चित्रमा उतार्ने र त्यस्ता चित्रहरुलाई संकलन गरि २÷३ महिनामा एक पटक प्रदर्शनीमा राख्ने गरेको बताउनु भयो । गत पुसमा रसुवाका प्राकृतिक सम्पदाहरुबारे कलाकारहरुले तयार गरेका चित्रहरु ठमेलमा प्रदर्शनीमा राखेका थिए । चित्रकलाको माध्यमबाट नेपाली कला, संस्कृति र ऐतिहासिक संपदाहरुको संरक्षण गर्नुका साथै देश विदेशमा प्रचारप्रसार गर्ने साटर्डे प्लेन एयर वर्कशपको उद्देश्य रहेको बताइयो ।
नेपाल भ्रमण बर्ष २०२० को अवसरमा समुहका रुविन बादे बनेपा, दिवेश प्रधान काठमाडौं, राकेशचन्द्र श्रेष्ठ ललितपुर, दिपेन्द्र बनेपालीभक्तपुर, राजेन्द्र याकमी भक्तपुर, पुण्य माताङ्ग भक्तपुर, राधेश्याम कर्माचार्य भक्तपुर, लक्ष्मी प्रसाद खोतेजा भक्तपुर, विकाश विसुङ्छे भक्तपुर, प्रकाश मानन्धर ठिमी, हरि प्रजापति ठिमी, श्री जीत भासिमा ठिमी, तथागतचित्रकार काठमाडौं, साजिद शाक्य बनेपा, बाल कलाहरु श्रीजयी श्रेष्ठ र श्रीयास श्रेष्ठ बनेपा लगायतकाकलाकारहरुले चण्डेश्वरीको सम्पदा र स्थानीयमहत्वलाई स्थलगत रुपमा अबलोकन गरी चित्रहरु तयार पारेको र उक्त चित्र साँझपख प्रदर्शनमा राखेको स्थानीय कार्यक्रम सहजकर्ता एवं कलाकार रुविन वादेले बताउनु भएको छ । बनेपाका अग्रज कलाकार नेपाल सुधार भैल र सहायक कर्माचार्यले अनुगमन गरेकाथिए ।





