पाँचखालमा निशुःल्क स्वास्थ्य शिविर
पाँचखाल/समाज कल्याण प्रावि पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघको आयोजनामा सम्पन्न भएको शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
१२ औं स्वास्थ्य शिविरको उद्घाटन पाकिस्तानी राजदुत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका अध्यक्ष हिमालयन शम्सेर राणाले सयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका अध्यक्ष हिमालयन शम्सेर राणा लगायतको उपस्थिति रहेको थियो । पाकिस्तानबाट अध्ययन गरेर फर्किएका ८ डाक्टरहरुवाट बाहिरंग स्वास्थ्य परिक्षण गरिएको नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका महासचिव मञ्जुरत्न शाक्यले जानकारी दिनुभयो ।
पाँचखालमा आँखा अस्पताल
पाँचखालमा आँखाको उपचारका लागि आँखा अस्पताल शुरु भएको छ । युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल बाह्य शाखा सञ्चालक कल्याण ढुंगानाले पाँचखाल ४ समाजकल्याण चोकमा आँखा उपचार केन्द्र स्थापना गरेका हुन् ।
आँखा अस्पतालको उद्घाटन सँगै निःशुल्क आँखा शिविर समेत सञ्चालन गरेका छन् । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले अस्पतालको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तब्य राख्नुहुँदै नगर प्रमुख खरेलले विदेश तथा शहरमा रहेका युवाहरु गाउँमा आएर यस्तै व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताउनु भयो । समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आबश्यक रहेको बताउँदै उहाँले नगरपालिकाले मोतिविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा अस्पतालले नगरलाई सहयोग पुग्ने अपेक्षा समेत राख्नु भयो । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी दनुवार, नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, स्थानीय जनप्रतिनिधि, स्थानीय बासीको उपस्थिति रहेको थियो ।
क्रिष्टल माला सम्वन्धी तालिम
पाँचखाल नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ क्रिष्टल माला बनाउने तालिम उपलब्ध गराएको छ । नगरपालिकाले ‘महिला लक्षित स्वरोजगार शिप सम्बन्धि’ ५ दिने क्रिष्टल माला सेट बुन्ने तालिम दिएको हो ।
वडाका माग अनुसार वडा नं ५ मा क्रिष्टल माला बुन्ने तालिम दिईएको पाँचखाल नगरपालिका महिला तथा बालबालिका शाखाका पुण्यदेवी श्रेष्ठले जानकारी दिनुभयो । क्रिष्टल माला बनाउने तालिममा पुण्यबती श्रेष्ठ, निर्मला विक, लक्ष्मी विक, प्रमिला केसी लगायतले सहजीकरण गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा पाँचखाल नगरको उपप्रमुख लक्ष्मी दनुवारले यस्ता तालिमबाट महिलाहरुको जीवनस्तरमा परिवर्तन ल्याउने भएकोले शिपमुलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले संघर्ष तथा मेहनतले जीवन नै परिवर्तन हुने भएकोले यसतर्फ ध्यान दिन अनुरोध गर्दै जे गर्न पनि शिपको आवश्यक पर्ने भएकोले सिकेका कुरालाई व्यवहारमा ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाँचखाल नगरका प्रवक्ता संजय तामाङले अनुभवलाई पेशा बनाएर काम गर्न अनुरोध गर्नुभयो । उहाँले शिप सिकेर व्यवसायीकरण गर्न नगरले सहयोग गर्ने पनि बताउनुभयो । नेपाल प्रेस यूनियन काभ्रेका अध्यक्ष एवं पाँचखाल नगरका प्रेस सल्लाहकार कपिल कोइरालाले शिप सिक्नु अवसर भएको बताउँदै त्यसलाई प्रयोग गर्न अनुरोध गर्नुभयो ।
वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागी विमला पराजुलीले माग अनुसारको तालिम आएकोले सिकेको शिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरले सबै वडामा के सिक्न चाहन्छन् भनेर सर्भे गरिसकेको र त्यसै अनुसार महिलाहरुलाई तालिम गर्दै जाने नगरपालिकाले जनाएको छ ।
पाँचखाल नगरपालिका साक्षर
पाँचखाल/पाँचखाल नगरपालिका साक्षर नगर घोषणा भएको छ । नगरपालिकाको सभाकक्षमा पाँचखाल नगरका प्रमुख महेश खरेलले गर्नुभएको प्रस्तावमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख उद्धव केसीले साक्षर नगर घोषणा गर्नुभएको थियो ।
नगरमा १६ देखि ६० बर्ष उमेर समूहको साक्षरता ९५.४३ प्रतिशत पुगेकोले साक्षर नगर घोषणा गरिएको पाँचखाल नगरका प्रमुख महेश खरेलले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसीले छिट्टै नै जिल्ला घोषणा गर्न लागेको जानकारी गराउँदै साक्षर नगरपालिका घोषणा गरेकोमा पाँचखाल नगरलाई धन्यवाद दिनुभयो । उहाँले शिक्षामा प्रगति गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु कृयाशिल हुनुपर्नेमा जोड दिनुभयो । विव्यस अध्यक्ष बन्न तछाड मछाड हुने तर त्यो भन्दा पछि विद्यालयका प्रगतिका विषयमा उहाँहरुको भूमिका कम देखिने उहाँको भनाई छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले सरकारले ल्याएको शिक्षा नीति सच्चिनु पर्ने बताउनुभयो । शिक्षा नीतिमा सबै काम स्थानीय तहले गर्ने भन्ने छ तर बजेट पठाउने बेलामा कम पठाउँदा शिक्षामा भने जस्तो बजेट नभएको बताउनुभयो । विभिन्न विद्यालयले व्यापार, जागिरमा तथा उच्च ओहदामा पुगेका पूर्व विद्यार्थीहरुलाई सहभागि बनाएर कार्य गरेमा शैक्षिक तथा भौतिक रुपमा सहयोग पुग्ने उहाँको भनाई थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारी, जिल्ला शिक्षा इकाईका प्रमुख गोकर्णध्वज कार्की, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थी, उदय कोईराला, उज्यालो नेपालका अध्यक्ष प्रेम महर्जन लगायतले साक्षर घोषणाले नगरलाई उचाईमा पु¥याएको मन्तब्य राख्नुभएको थियो ।





