2026 April 22/ 05:39: 43am

रोशी/काभ्रेको रोशी गाउँपालिकामा समावेशी ल्होछार मनाईएको छ । गाउँपालिका अध्यक्ष डिबी लामाले सबै जातजाती र भाषाभाषीहरुको संरक्षण, प्रर्वद्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताउनु भयो । 
    ‘जनप्रतिनिधि भई स्थानीय सरकारका रुपमा काम शुरु गरे लगत्तै स्थानीय सरकारले ल्होछार, माघे संक्रान्ति, जनै पूर्णिमा जस्ता महत्वपूर्ण चाडपर्वहरुलाई प्राथमिकतामा राखेको छ’–अध्यक्ष लामाले भन्नुभयो–‘हामी सबै जात र धर्मको रक्षा गर्छाैं । प्रर्वद्धन गर्छाै र प्राथमिकता दिन्छौं ।’ रोशी समावेशी उदेश्यले अगाडि बढेको सरकार भएकाले सबैलाई समान रुपले हेर्ने गरेको उहाँले बताउनु भयो । तामाङ समुदायले बनाउने ल्होछार पर्वमा ब्रम्हाणहरुको खैजेडी भजन प्रस्तुत गरिएको थियो भने लामा गुरुहरुले देखाउने झाँक्री (वन्वो) नाच दलित सुमदायका युवाहरु सहितको सहभागितामा प्रस्तुत गरिएको थियो । खैजेडी भजनको नेतृत्व ताराप्रसाद उप्रेतीले गर्नु भएको थियो भने झाँक्री नाचमा लक्ष्मण विक, बासु विक र युवराज लामा सहभागी थिए । आईतबार मगर समुदाय तथा अन्य समुदायहरुले आफ्नो रितिथिती अनुसारको झाँकी प्रस्तुत गरेका थिए । 
रोशी गाउँपालिकाको आर्थिक सहयोग तथा बरपिपल युवा क्लवको संयोजकत्वमा रोशी गाउँपालिका ७ चारसयबेशीमा आयोजित २८५६ औ मुसा वर्ष (जिवा ल्हो) सोनाम ल्होछार कार्यक्रममा विभिन्न समुदायले आफ्नो जात र समुदाय अनुसारको प्रस्तुती प्रर्दशन गरेका थिए । तामाङ समुदायका विभिन्न कलाकारहरुले ल्होछार पर्वको अवसरमा गित तथा नृत्य प्रस्तुत गरेका थिए । तीन दिनसम्म संचालन हुने कार्यक्रम गाउँपालिका अध्यक्ष डिबी लामाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्ताैला, प्रुमख प्रशासकिय अधिकृत डम्मरु दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, समाजसेवी शंखबुद्ध लामा, नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामा, नेताहरु रत्न लामा, कुन्साङ लामा, मिमबहादुर वाईवा ‘ज्वाला’, वडा अध्यक्षहरु श्रीदास लामा, तिर्थबहादुुर लामा, पोष्टबहादुर गौतम, मिकासजित लामा, पदमबहादुर लामा, जनम तामाङ, दुधराज तामाङ, मिलन लामा र रामबहादुर मोक्तान, क्लवका अध्यक्ष अतित मोक्तान, सदस्य फुर्साङ्ग दोर्जे लामा लगायतले ल्होछार पर्वको महत्व र संस्कृतिका बारेमा बताउनु भएको थियो । रोशी गाउँपालिकाले ल्होछारको अवसरमा हरेक वर्ष तीन दिन सार्वजनिक विदा दिदै आएको छ । विभिन्न वडाहरुमा ल्होछारका कार्यक्रमहरु आयोजना भईरहेको अध्यक्ष डिबी लामाले बताउनु भयो । 
    अन्य स्थानीय तहरुमा पनि विभिन्न संघ सस्थाको आयोजनामा ल्होछार पर्व मनाईएको छ । 
त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्वर ७ मा पनि ल्होछार मनाईएको छ । प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, रत्न ढकाल, बसुन्धरा हुमागाई, नेकपा काभ्रेका सचिव एव मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सहकर्मी उपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।