2026 April 22/ 03:42: 28am

धुलिखेल/वन्यजन्तु संरक्षणका लागि डिभिजन वन कार्यालय काभ्रेले सरोकारवालासँग समन्वय बैठक आयोजना गरेको छ । बैठकमा समन्वय समितिले वन्यजन्तु संरक्षणसँगै ब्यवस्थापन गर्नु पर्ने सुझाव दिएका थिए । 
‘पछिल्लो समय वन्यजन्तु संरक्षणसँगै ब्यवस्थापनको खाँचो भएको छ’–सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले भन्नुभयो–‘जुन वन्यजन्तुले धेरै दुख दिने गरेको छ त्यसको ब्यवस्थापन र त्यसले पु¥याएको क्षतिका बारेमा राहत समेत प्राप्त हुँदैन ।’ अहिले बाँदरले अधिकांश ग्रामिण भेगमा कृषकहरुलाई दुख दिने गरेको सहभागिहरुले बताए । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठले बाँदरसँगै दुम्सी, बँदेल र भालुले अन्नपात खाएर कृषकहरु हैरानीमा परेको बताउनु भयो । संरक्षणसँगै ब्यवस्थापनमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । मानव र वन्यजन्तु बीच हुने द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुहरुलाई उनिहरुकै बासस्थानसम्म जान सहज वातावरण बनाउनु पर्ने निश्कर्ष समेत निकालिएको छ । वनजंगल कुनै न कुनै ढंगबाट असुरक्षित भए पछि बन्यजन्तुहरु ग्रामिण बस्तिमा प्रवेश गरी मानवीय क्षति पु¥याउने गरेका छन् । 
सरकारले वन्यजन्तुहरुबाट क्षति पु¥याएको अवस्थामा मानवको मृत्यु भएको अवस्थामा परिवारलाई राहत स्वरुप १० लाख सम्म राहत उपलब्ध गराउने गरेको डिभिजन बन कार्यालय काभ्रेका प्रमुख डिभिजनल अधिकृत भगवानप्रसाद गुप्ताले जानकारी दिनु भयो । केहि बाहेक अधिकांश वन्यजन्तुले क्षति पु¥याएको अवस्थामा मानव, पशुपक्षी, चौपाया, कृषिको अवस्था अनुसार राहत उपलब्ध हुनेछ । जिल्लामा चितुवा, बँदेल र भालुसँगै बाँदरको आक्रमणले हैरानी ब्यहोर्नु परेको सहभागिहरुले बताए । पशुपति र स्वयम्भुबाट रोगि बाँदरहरु स्थानीय सामुदायिक वनमा मध्यरातमा गाडीमा राखेर छाडिदिने गरेको उनिहरुको गुनासो छ । बजारमा कुकुर, गाउँमा बाँदर आतंक रहेकाले त्यसको ब्यवस्थापनमा सरोकारवाला पक्षले ध्यान दिनु पर्ने बैठकमा सुझाव प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहायक वन अधिकृतहरु, विज्ञहरुको सहभागिता रहेको थियो । वन्यजन्तु संरक्षण र ब्यवस्थापनमा स्थानीय तहले दायित्व नठान्दा समस्या बढेको अधिकारकर्मीहरुले बताए ।