पाँचखालमा १३ सय बिद्यार्थीको मुटु परीक्षण
पाँचखाल/मुटु रोग रोकथाम, न्युनिकरण र निवारणका लागि कार्यरत नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे पाँचखाल उपशाखा र रोटरी क्लब अफ धुलिखेलको संयोजन तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा बाथ मुटुरोको निशुल्क शिबिर सञ्चालन गरिएको छ ।
शिबिरमा गोल्डेन फ्युचर माध्यमिक विद्यालय, पाँचखाल भ्याली माध्यमिक विद्यालय र सरस्वती शिक्षा गृह माध्यमिक विद्यालयका १ हजार ३ सय २२ विद्यार्थीहरुको बाथ तथा मुटु रोग परिक्षण गरिएको थियो । वालवालिकाहरुको बाथ मुटु परिक्षण शिविरमा धुलिखेल अस्पतालका डा. अनिश जोशी, डा. सोनाम रिन्चेन लामा, डा. सन्दिप कुमार शाह, डा. सुप्रिया पौडेल, डा. टंक पन्त र प्रवेश आचार्यले परिक्षण गर्नू भएको थियो । शिविरमा ३ सय २९ जनाको इको गरिएको थियो । इको गरिएका विद्यार्थीहरुको रिपोर्ट विश्लेषण गरि थप उपचार आवश्यक भएका विद्यार्थीहरुलाई विद्यालय मार्फत अभिभावकलाई जानकारी गराउने परिक्षण शिविरमा सरिक प्राविधिक र नेपाल हृदय रोग निवारण प्रतिष्ठानले जानकारी गराएको थियो । रिफर गर्ने विद्यार्थीको संख्या १ सय हुन सक्ने जनाइएको छ । थप उपचारको लागि अनुकुल समय मिलाएर पाँचखाल नगरपालिकाका अन्य विद्यालयका विद्यार्थीहरुको पनि मुटु परिक्षण शिविर संचालन गर्ने नेपाल हृदयरोग निवारण प्रतिष्ठानका काभ्रेका सभापति अशोक कुमार श्रेष्ठले वताउनु भएको छ ।





