काभ्रे/नेपाल हृदयरोग निवारण प्रतिष्ठानको २८ औं केन्द्रिय सभा महोत्तरीको वर्दिवासमा पुर्व राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।
कार्यक्रममा काभ्रे शाखाबाट सभापति अशोक कुमार श्रेष्ठको नेतृत्वमा २२ जना सदस्यको सहभागिता रहेको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले स्थापना गरेको बाथ मुटुरोग नियन्त्रण, रोकथाम र निवारणको प्रचार प्रसार तथा उपचारको लागि स्थापित कोषमा काभ्रे शाखाबाट रु ५० हजार तथा कमला श्रेष्ठ र क्रियटिभ सहकारीबाट रु २० हजार सहयोग गरिएको काभ्रेका सभापति अशोक कुमार श्रेष्ठले वताउनु भयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाद्धारा वर्ष भरि गरिएका मुख्य मुख्य क्रियाकलापहरुको भिडियो प्रदर्शनको माध्यमबाट सचिव टीकाभक्त भोछि भोयाले प्रस्तुतिकरण गर्नु भएको थियो । आयोजक शाखा महोत्तरीका अध्यक्ष दिपक बहादुर कार्की बाट सहभागी शाखालाई मायाको चिनो काभ्रे शाखाका सह–कोषाध्यक्ष हरिशरण श्रेष्ठ लाई प्रदान गरिएको थियो ।
त्यसै गरी शाखाको बनेपा हार्ट क्लिनिकमा निरन्तर २० वर्ष देखि सेवा गर्दै आउनु भएका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मी लाई मृगेन्द्र चिकित्सा गुठीद्धारा ओरेसन् अवार्डबाट सम्मानित गरिएको थियो भने डा. देव कुमार न्यौपानेलाई मुटुरोगको क्षेत्रमा उल्लेखनीय काम गरे वापत मृगेन्द्र चिकित्सा गुठीद्धारा युवा चिकित्सक पुरस्कार तथा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रिय अध्यक्ष दिपेन्द्र पुरुष ढकालले काभ्रे शाखाको कार्यक्रम तथा प्रगतिको प्रशंसा गर्दै धन्यवाद दिनु भएको थियो । २८ औं केन्द्रिय सभाको कार्यक्रम सम्पन्न गरि फर्कने क्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका चिकित्सकहरुले सिन्धुलीमा स्थानिय व्यक्तिहरुको रक्तचाप परिक्षण गरि हृदयघात एवं मष्तिस्कघात बारे परामर्श प्रदान गर्नुभएको थियो ।





