2026 April 22/ 03:57: 30am

धुलिखेल/भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, कार्यालय प्रमुख र विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै सचिव न्यौपानेले अख्तियारले उजुरी दर्ता हुँदैमा कसैलाई भ्रष्टाचारी नभनेको बताउँदै उजुरी गर्ने संख्या बढे पनि तथ्य कम हुने गरेको बताउनु भयो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारलाई निर्वाचनमा विजयी भएर काम गर्ने उत्साहलाई अख्तियारको उजुरीका नाममा तर्साउने र उत्साह घटाउने काम भएको बताउनु भयो । उजुरी जति सबै भ्रष्टाचार नहुने बताउँदै उजुरीलाई समयमै फछ्र्याैट गरेर काम गर्ने वातावरण बनाउन सुझाव दिनु भयो । अख्तियारका बारेमा स्थानीय तहमै पुगेर उपभोक्ता समिति, संघ संस्थाहरुका प्रतिनिधिहरुलाई जानकारी गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा अख्तियारका प्रवक्ता सह सचिव प्रदिप कोइराला र हेटौडा प्रमुख शिवकुमार कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख, कार्यालय प्रमुखहरुले अख्तियारमा परेका उजुरीहरुले विकास निर्माणमा समस्या परेको बताएका थिए । इमान्दारीता ठुलो कुरा भएकाले गल्ति गरे पछि कारवाही गर्ने भन्दा पनि गल्ति नै गर्न नदिने गरी नीति बनाउनु पर्ने सहभागिहरुले सुझाव दिए ।     स्थानीय तह सम्वन्धी अख्तियारमा उजुरी धेरै परेका छन् ।  परेको उजुरी मध्ये केहि मात्रै छानविन भएको छ । कुनै पनि उजुरी फछ्र्याैट भएका छैनन । 
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।