2026 April 22/ 03:56: 04am

धुलिखेलमा फिनल्याण्डका राजदुत सहितको टोली
धुलिखेल/धुलिखेल नगरपालिकामा नगरपालिकाले गरेको विकास निर्माण र स्थानीय सरकारको अभ्यासका बारेमा फिनल्याण्डका राजदुत सहितको टोलीले अवलोकन गरी नगर प्रमुख, उपप्रमुख सहित जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको छ । 
फिनल्याण्डका राजदुत एन्टिन प्रिती र युनिसेफ प्रतिनिधि विस्च इल्कि, बैदेशिक मामिला मन्त्रालय फिनल्यान्डका डेपुटी डाईरेक्टर जनरल कैहिलाठी पिक्का र डाईरेक्टर मजालाठी टिठा लगायतको प्रतिनिधि मण्डलद्वारा नेपालको चार बर्षे विकास रणनीति निर्माणको पूर्व सन्ध्यामा धुलिखेल नगरपालिकाले घोषणा गरेको एक घर एक धारा सुरक्षित खानेपानी युक्त समुदाय लगायत सबिधान निर्माण पछि भएको नयाँ ब्यवस्था अनुसार निर्वाचित स्थानीय सरकारले गरेका विकास सम्बन्धि काम कारबाही, लैंगिक समानता सन्बन्धी अवलोकन भ्रमण धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाले युनिसेफको सहयोगमा वडा नम्वर १ को देविटार स्थित छाँगे र धुलिखेल नगरपालिक वडा नम्वर ११ को धिताल टोलमा सुरक्षित खानेपानीको ब्यवस्थापन गरेको छ । धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले खानेपानीको ब्यवस्थापनका लागि लिएको लक्ष्यका बारेमा जानकारी गराउँदै सुरक्षित खानेपानी ब्यवस्थापनका लागि भईरहेको सहयोगका बारेमा धन्यवाद दिनु भएको थियो । सुरक्षित खानेपानीका लागि नगरपालिकाको रणनीति दिगो विकास लक्ष्य अनुसार नगरका सबै क्षेत्रमा पु¥याउने गरी कार्य भईरहेको उहाँले बताउनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्माले स्थानीय सरकार निर्वाचित भए लगत्तै प्राप्त सरकारका अधिकार र त्यसको कार्यान्वयनमा महिलाको सक्रिय भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । 
प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले नगरपालिकाले गरिरहेको प्रशासनिक भूमिका र कार्यले नागरिकलाई पु¥याएको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । उक्त टोलिले धुलिखेल ११ को धिताल टोलमा पुगी उपभोक्ताहरुले प्राप्त गरिरहेको सुरक्षित खानेपानी र त्यसको ब्यवस्थापनका बारेमा सरोकारवालासँग अन्र्तक्रिया गरेको थियो । वडा अध्यक्ष विष्णु धितालले उपभोक्ताहरुको अवस्था, खानेपानी पछिको ब्यवस्थापन र नगरपालिकाले लिएको एक घर एक धाराको रणनीतिमा सुरक्षित खानेपानीले पारेको प्रभावका बारेमा जानकारी गराउनु भएको थियो । 

प्रजनन स्वास्थ्य तथा आकस्मिक प्रसुती सेवा सम्वन्धी समिक्षा
धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेले जिल्लामा रहेका १३ वटा स्थानीय तह, नीजि तथा सामुदायिक अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग प्रजनन स्वास्थ्य तथा आकस्मिक प्रसुती सेवाका बारेमा अन्र्तक्रिया गरेको छ । 
सुरक्षित मातृत्वका लागि स्थानीय तहबाट गरिनु पर्ने सचेतना कार्यक्रमहरु आयोजना गर्नु पर्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले बताउनु भयो । ‘अहिले श्रोत साधन बढेको छ तर सुचक घट्दै गएको छ’–झाले भन्नुभयो–‘कर्मचारी समायोजन, स्थानीय सरकारमा जाने कर्मचारीहरुले काम गर्ने गति बढाउन सकिरहेका छैनन ।’ दुई दिने जिल्ला स्तरीय समिक्षा कार्यक्रमको समापन कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले स्थानीय तहहरुमा स्वास्थ्य शाखा मार्फत कार्यहरु भई रहे पनि सबै तहहरुमा प्रभावकारी हुन नसकेको बताउनु भयो । धुलिखेललाई हेल्दी सिटीका रुपमा विकास गर्ने लक्ष्य अनुरुप कार्य भईरहेको बताउँदै उहाँले आमा र बच्चाको स्वास्थ्य दुबै स्वस्थ बनाउन गर्भवति रहँदा देखि नै ख्याल पु¥याउनु पर्ने बताउनु भयो । मातृत्वको सुरक्षा समाजको ऐना भएकाले प्राथमिकताका साथ ध्यान दिन अनुरोध गर्नु भयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसी लगायतले मन्तब्य राख्नु भएको थियो । प्रजनन स्वास्थ्य र आकस्मिक प्रसुती सेवाका बारेमा स्थानीय तहमा भएका गतिविधिहरुका बारेमा कार्यक्रममा समिक्षा गरिएको थियो । 

रंगशाला निर्माणको तयारी
धुलिखेल/धुलिखेल नगरपालिकाले धुलिखेलमा रहेको फुटबल ग्राउण्डलाई ब्यवस्थित गरी स्टेडियम निर्माण गर्ने उदेश्यले डिपिआर बनाउन शुरु गरेको छ । डिपिआरको प्रारम्भिक छलफलमा नगर प्रमुख अशोक ब्याञ्जुले उदेश्य सहितको सुझाव प्रस्तुत गर्नु भएको थियो ।  
प्रारम्भिक अध्ययन सहितको डिपिआरमा ६ हजार अट्ने क्षमताको स्टेडियमका लागि ६० करोड रुपैया लाग्ने अनुमान गरिएको छ । २३ रोपनी जमिन रहेको उक्त ग्राउण्डका लागि थप १४ रोपनी जमिन ब्यवस्थापनका लागि प्रस्ताव गरिएको छ । नगरपालिकाले वरपरको जमिनको ब्यवस्थापन गर्ने गरी स्टेडियमको डिपिआर बनाउन शुरु गरेको छ । पहिलो चरणमा ३ हजार अट्ने क्षमताको स्टेडियम निर्माण गर्ने गरी तयारी शुरु गरिएको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला दशरथ रंगशालाको बैकल्पिक स्टेडियमका रुपमा विकास गर्ने गरी तयारी गर्ने प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले गर्ने हरेक विकास निर्माणलाई डिपिआर तयार गरी बजेट ब्यवस्थापन गर्ने प्रकृया शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।