2026 April 22/ 02:15: 14am

धुलिखेल/धुलिखेल ह्याण्डी क्राफ्ट एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा एक महिनो हाते डल बनाउने सम्वन्धी तालिम शुरु भएको छ । तालिमको शुभारम्भ धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख ब्याञ्जुले सिप सिकेर आत्मनिर्भर बन्न सुझाव दिनु भयो । नगरपालिकाले तालिम प्राप्त ब्यक्तिहरुको समुहलाई २ लाख रुपैयाँसम्म र्निब्याजी रकम    ब्यवसायका लागि उपलब्ध गराउने बताउनु भयो । उद्यमशिलताका लागि नगरपालिकाले समुह मार्फत रकम परिचालनका लागि कोष खडा गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले सिपलाई ब्यवहारिक जीवनमा प्रयोगमा ल्याउन अनुरोध गर्नु भयो । ‘सिप सिकेर आत्मनिर्भर बन्नुस’–नगरप्रमुख ब्याञ्जुले भन्नुभयो–‘सिप भएका ब्यक्तिहरु कोहि बेरोजगार बस्नु पर्ने छैन ।’ उत्पादन गरेको बस्तु विक्रीका लागि बजारको समस्या नभएको बताउँदै उहाँले उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो । 
कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष रोमीप्रसाद ब्याञ्जुले वडा मार्फत शुरु गरिएको उक्त तालिमले पहिलो चरणमा १० जना महिलाहरुलाई हाते डलको तालिम उपलब्ध गराएको बताउनु भयो ।  उहाँहरु ब्यवसायीक बन्न एडभान्स तालिम उपलब्ध गराउने बताउनु भयो । सडक, ढलको ब्यवस्थापन मात्रै विकास नभएर नागरिकहरुलाई आत्मनिर्भर बनाउन आयोजना गरिएका यस्ता सिपमुलक तालिम दिर्घकालिन हुने वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जुले बताउनु भयो । धुलिखेल ह्याण्डी क्राफ्ट एण्ड ट्रेनिङ्ग सेन्टरकी प्रोपाईटर सुलेखा ब्याञ्जुले हाते डल बनाउने तालिम २० जना गृहिणी महिलाहरुका लागि उपलब्ध गराईसकेको बताउनु भयो । उहाँले उत्पादन गरिएका सामाग्रीको बजार राम्रो भएकाले गुणस्तर सामान विक्रीका लागि उत्पादनमा जोड दिनुपर्ने र तालिमलाई ब्यवसायीक बनाउनु पर्नेमा सुलेखा ब्याञ्जुले जोड दिनुभयो । उक्त तालिमका लागि वडा कार्यालयले १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।