2026 April 22/ 02:14: 23am

पातलेखेत/धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित पातलेखेतमा रहेको कालीदेवी माध्यमिक विद्यालयमा कार्यरत पूर्व शिक्षकहरुले विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुको शैक्षिकस्तर बृद्धिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ ।
 विद्यालयको ४३ औ बार्षिकोत्सव समारोह, नवनिर्मित भवनको हस्तान्तरण, पूर्व प्रधानाध्यापकको विदाई तथा सम्मान, २०७१ देखि २०७५ सम्म एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुको सम्मान र विदाई कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरलाई बालमैत्री, शैक्षिक, स्वस्थ र पर्यटकिय नगरी बनाउने उदेश्यले कार्य भईरहेको बताउनु भयो । ‘विद्यालय प्रवेश गर्न नसकेका बालबालिकाहरुलाई विद्यालय हाता भित्र ल्याउनु जरुरी छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘शिक्षक बीचको एकता, अभिभावकहरुको दायित्व र परिणामुखी विद्यार्थीहरुको जीवनका लागि विद्यालयको वातावरण निर्माण गरिनु पर्छ ।’ शिक्षकहरुको मुल्यांकन गर्ने विधी बनेको बताउँदै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले पहिलो चरणमा वडाका १२ वटा विद्यालयलाई नमुना बनाईने बताउनु भयो । शिक्षक दरवन्दी मिलान सम्पन्न गरी शैक्षिक क्षेत्रका तमाम समस्या समाधानका लागि नगरपालिकाले कार्य गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले सिप सहितको आत्मनिर्भर हुने प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो । 
२०७६ भाद्र २ गते अनिवार्य अवकाश प्राप्त पूर्व प्रधानाध्यापक गंगाप्रसाद सत्यालले १ लाख रुपैया अक्षयकोषका लागि हस्तान्तरण गर्नु भयो भने पूर्व शिक्षक भवानी शंकर तिमल्सिनाले कोषका लागि ५० हजार प्रदान गर्नु भएको थियो । पुर्व शिक्षकहरुले अक्षय कोषमा रकम प्रदान गरेसँगै स्थानीय समाजसेवी पात्लेगाउँ अर्गानिक फर्मका गोविन्द घिमीरेले पनि ५० हजार उपलब्ध गराउनु भयो । ‘कोषमा २ लाख रुपैया जम्मा भएको छ, उक्त रकमबाट विद्यालयमा अध्ययन गर्ने जेहेन्दार छात्रछात्राहरुका लागि छात्रबृत्ति उपलब्ध गराईनेछ’–विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपानेले बताउनु भयो–‘विद्यालयलाई नगरकै नमुना बनाउने अभियान स्वरुप पुर्व शिक्षक, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सक्रिय सहभागिता छ ।’  कार्यक्रममा विद्यालयले पुर्व प्रधानाध्यापक गंगाप्रसाद सत्याललाई सम्मान गरेको थियो भने सत्यालले शिक्षकद्धय दामोदर न्यौपाने र सुरेशराज पाठक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपाने र पुर्व गाविस अध्यक्ष केशव वडाललाई सम्मान गर्नु भएको थियो । शिक्षक, विद्यार्थीले संयुक्त रुपमा नेपालको सिमा नमिच्न खवरदारी गर्दै सरोकारवालाहरुलाई चेतावनी दिएका थिए । ६८ लाखमा निर्माण सम्पन्न भएको ४ कोठे पक्कि भवनको नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । ४ महिनामा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको उक्त भवन जिल्लामै छोेटोे समयमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख द्धारिका पोखरेलले बताउनु भयो । भवन निर्माणसँगै शिक्षालाई सिप र गुणस्तरमा जोड्न पोखरेलले अनुरोध गर्नु भयो । विद्यालयमा २ सय १० जना विद्यार्थी भर्ना भएकोमा १ सय ७१ नियमित छन् । १२ जना शिक्षक नीजि, राहतबाट कार्यरत रहेको प्रधानाध्यापक उद्धवप्रसाद तिमल्सिनाले बताउनु भयो । ‘शिक्षक अभावका कारण शैक्षिक गुणस्तर कायम गर्न चुनौती थपिएको छ’–उहाँले भन्नुभयो–‘अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्ययनका लागि कालीदेवी जाउँ भन्ने अभियानले वडा भित्रकै नमुना मावीलाई नगर र जिल्लाकै नमुना बनाउने अभियानमा छौं ।’ 
वडा अध्यक्ष विष्णु धितालले नगरले समग्र विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने गरी कार्ययोजना अनुसार कार्य गरिरहेको बताउनु भयो । नमोबुद्ध नगरपालिका वडा नम्वर २ का अध्यक्ष सञ्जीव ढकाल, पूर्व प्रधानाध्यापक गंगाप्रसाद सत्याल, पूर्व विद्यार्थी श्रीदास तामाङ लगायतले सामुदायिक विद्यालयहरुले गुणस्तर सुधार गर्न चाहे सम्भव भएको बताउनु भएको थियो । विद्यालयमा भर्ना भएका बालबालिकाहरु नियमित आउन नसक्नुको कारण अभिभावक र विद्यालयले खोजी गरी नियमित गराउन पहल गर्नु पर्ने सहभागिहरुले बताएका थिए ।