बनेपा/प्रतिभा सम्मान प्रबन्ध गुठी, बनेपाले विविध विधाका प्रतिभाहरुको सम्मान गर्दै आएकोमा यस वर्ष मानव अधिकारका क्षेत्रमा सकृय तीनजना प्रतिभाहरुलाई सम्मान गरेको छ ।
प्रतिभा सम्मान प्रवन्ध गुठीले मानवअधिकार क्षेत्रमा कृयाशिल प्रदीप पोखरेल (राष्ट्र), भोजराज तिमल्सिना (काभ्रे) र राजु सरकार (बनेपा) लाई जनही १० हजार नगद सहित प्रतिभा पदक ‘प्रतिभा पदक’ ‘ज्ञानबहादुर पदक’ र ‘कान्छाभाइ पदक’ दिई एक समारोहका बीच सम्मान गरेको छ । पूर्व शिक्षामन्त्री सभासद् तथा साहित्यकार दीनानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शर्माले मानवअधिकारकर्मीहरु भनेका देशमा व्याप्त विकृतिका विरुद्ध आवाज उठाउँदै आएका मानवीय मर्मलाई साथ दिंदै मानव मात्रलाई कर्म सिकाउँदै आएका व्यक्तित्वहरु भएकाले उनिहरुको अर्थ र गरिमा राष्ट्रमा उच्च रहेको बताउनु भयो । उहाँले प्रतिभाहरुको कदर गर्दै आउनु भएका मोहन दुवाल बनेपाको उपज भएकोले बनेपाले गौरव गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा सम्मानित मानव अधिकारकर्मीहरुले मानवअधिकार सरकारको तर्फबाट हनन हुँदै आएको विगत इतिहासलाई कोट्याउँदै गणतन्त्र पछि पनि मानवीयता संकटमा पर्ने सन्दर्भ हुनु दुःखदायी भएको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले बनेपामा आएर पुसको चिसो जाडोमा झमझम पानी परेको समयमा उद्यानमा रमेर मानव अधिकारकर्मीहरुको सम्मान गर्ने अविस्मरणीय अवसर दिएकोमा गुठी र गुठीका अध्यक्षको प्रशंसा गर्नुका साथै विमोचित कृति ‘शिवसहस्र’ नामक ग्रन्थको परिचय दिंदै कवि गुणराज काफ्लेको साहित्यिक यात्राको जानकारी दिनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ठ शिक्षासेवी तथा साहित्यकार प्रा.डा. रामप्रसाद दाहालले १० हजार नगदको जनमत वाङ्मय प्रतिष्ठानको अक्षय कोषमा रहने गरी उक्त कार्यक्रममा हस्तान्तरण गर्नु भएको थियो । प्रतिभा सम्मान प्रवन्ध गुठीका सचिव विधान जोशीले स्वागत गर्दै सुरु गरेको उक्त सम्मान कार्यक्रमका अध्यक्ष मोहन दुवालले बनेपाबाट राष्ट्रकै लागि योगदान पु¥याउँदै आफ्नो मुहार राष्ट्रमा बनेपाले देखाउनुपर्ने भन्दै बनेपा, जिल्ला र राष्ट्रका प्रतिभाहरुलाई गुठीले सम्मान गर्दै आएको बताउनु भयो । केहि वर्ष अघि गुठीले बनेपा क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्दै आएको थियो ।





