धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा जिल्लामा रहेका १३ वटै स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीहरु, कानुनी सहजकर्ताहरुसँग अन्र्तक्रिया सम्पन्न भएको छ ।
न्यायिक समितिले निर्वाह गरिरहेको भूमिका, कार्य क्षेत्रमा देखिएका समस्याहरुका बारेमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, जिल्ला न्यायाधिश पुरुषोतम ढकाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतले जिज्ञासा मेटाउनु भएको थियो । न्यायिक समितिमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । उक्त समितिले स्थानीय स्तरमा भएका विभिन्न घटनाहरु मध्ये फौजदारी बाहेक ११ वटामा मेलमिलाप र १३ वटामा निर्णय गर्न पाउने अधिकार छ । न्यायिक समितिमा विशेषगरी साँध सिमाना, घरायसी झगडा, सडक, जग्गा खिचलो लगायतका विवादहरु आउने गरेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेतीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।





