पलाञ्चोक/पाँचखाल नगरपालिका र नगरको वडा नं ९ को संयुक्त सहयोगमा पलाञ्चोकमा २५ वटा हाते ट्रयाक्टर वितरण गरिएको छ ।
पाँचखाल नगरपालिका वडा नम्वर ९ को प्राङणमा भएको कार्यक्रममा एक कार्यक्रमका विच नगर प्रमुख महेश खरेलले स्थानीय कृषकहरुलाई ट्रयाक्टर वितरण गर्नुभयो । ५ जनाको एउटा समूह बनाएर वितरण गरिएको ट्रयाक्टरले १ सय कृषक परिवारलाई समेट्ने वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । ५० प्रतिशत अनुदानमा कृषकले २० हजार ५ सय मात्र तिर्ने गरी उपलब्ध गराईएको उहाँको भनाई छ । ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले नगरले पवित्र उदेश्यले वितरण गरेको सामाग्रीको दुरुपयोग नगरी प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिक सँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोध गर्नुभयो । समूहहरुले पाए पनि बुढाबुढी, अशक्तहरुलाई निशुल्क रुपमा सहयोग गर्न पनि अनुरोध गर्नु भयो ।
वडा नम्वर ९ ले यस अघि पनि २७ वटा हाते ट्रयाक्टर वितरण गरेको थियो । नगरपालिकामा वडा नं ६ ले पनि यस अघि हाते ट्रयाक्टर वितरण ग¥यो भने वडा नं ४ मा पनि हाते ट्रयाक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरका प्रमुख प्रशाशकिय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिनुभयो ।





