2026 April 22/ 12:30: 24am

धुलिखेल/स्थानीय विपद् ब्यवस्थापन समितिको बैठक धुलिखेलमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको सहयोगमा जिल्ला स्तरीय सरोकारवालाहरुको बैठक सम्पन्न भएको हो । 
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा १३ वटा स्थानीय तहका प्रमुख प्रशासकिय प्रमुख, विपद हेर्ने शाखाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौड्याल, रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधान लगायतले जिल्लामा भएका विपद्हरुको ब्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका थिए । 
स्थानीय विपद् ब्यवस्थापन समितिलाई थप सदृढिकरण गर्ने, खोज र उद्धार सामाग्रीको खरिद तथा तालिम संञ्चालन गरी सूचना ब्यवस्थापनलाई प्रभावकारी सम्प्रेषण गराउने, स्थानीय आपतकालिन केन्द्र स्थापना सम्वन्धमा, वडा स्तर देखि स्थानीय विपद् ब्यवस्थापन समिति गठन गर्ने, स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना र स्थानीय विपद् तथा प्रतिकार्य योजना, स्थानीय विपद् जोखिम ब्यवस्थापन योजना निर्माण, विपद् सम्वन्धी गतिविधिहरुलाई प्रर्दशन गर्ने लगायतका विषयमा छलफल भएको थियो । सूचना ब्यवस्थापन अधिकृत राजकुमार घिमिरेले अपातकालिन कार्य सञ्चालन केन्द्रका बारेमा जानकारी गराउनु भएको थियो । केन्द्रले जिल्लामा स्थानीय तहसँग भएको समन्वय, क्षमता अभिबृद्धी र खोज उद्धार सामाग्रीका लागि भएको पहलका बारेमा समन्वयात्मक कार्य सम्पन्न भएको घिमिरेले बताए ।