2026 April 22/ 12:30: 56am

धुलिखेल/निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काभ्रेको १४ औ बार्षिक साधारण सभा केन्द्रिय सह अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीजि क्षेत्रका विद्यालयहरुको सशक्तिकरण, सबल र सक्षम हुनुपर्ने बताउनु भयो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुंगानाले शिक्षा नीतिले केहि हदसम्म नीजि क्षेत्रबाट संचालन भएका विद्यालयहरुका बारेमा सम्बोधन गरेको भए पनि सामाजिक सुरक्षा कोष लगायतका विविध विषयमा अझै सम्बोधन हुन नसेकाले संघर्ष जारी रहेको बताउनु भयो । कार्यक्रममा महासचिव किरण घिमिरेले कानुन र नीतिगत विषयमा नीजि विद्यालयहरुको समस्या नरहने बताउनु भयो । सामाजिक सुरक्षा कोषमा अझै सबै विद्यालय जान नसकेकाले तत्काल त्यसका बारेमा निर्णय नलिन विद्यालय संचालकहरुलाई उहाँले अनुरोध गर्नु भयो । प्याब्सनले शैक्षिक सम्मेलन आयोजना गर्न लागेकाले उक्त सम्मेलनबाट कक्षा कोठा देखि विद्यालयको समग्र स्तरोन्नतिका लागि ध्यान दिन आवश्यक रहेका बताउनु भएको थियो । सामुदायिक विद्यालय भन्दा नीजि विद्यालय अझै फरक रहेकाले फरकपन कायम राख्न पनि सुधार आवश्यक रहेको उहाँले बताउनु भयो । 
    कार्यक्रममा प्याब्सन केन्द्रिय सचिव भिमसेन केसी, प्रदेश नम्वर ३ का अध्यक्ष, केन्द्रिय सदस्यहरु, पूर्व अध्यक्षहरु, प्याब्सनका कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, प्याब्सनका सदस्य विद्यालयहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सचिव सुजेन्द्र श्रेष्ठको संचालन रहेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा उपाध्यक्षहरु भरतबहादुर केसी, महेन्द्रबहादुर थिङ, कोषाध्यक्ष बसन्तराज नेपाल लगायतले प्याब्सन काभ्रेका गतिविधिहरुमा जानकारी गराएका थिए । प्याब्सन काभ्रेमा बनेपा नगरपालिकामा २५, पनौती नगरपालिकामा १२, धुलिखेल नगरपालिकामा १०, पाँचखाल नगरपालिकामा १०, मण्डनदेउपुर नगरपालिकामा ८, नमोबुद्ध नगरपालिकामा ४, रोशी गाउँपालिकामा २ र भुम्लु गाउँपालिकामा १ वटा समेत गरी ७२ वटा विद्यालय आवद्ध छन् । प्याब्सनमा चालु वर्षमा ३ वटा विद्यालय थपिएका छन् । प्याब्सन काभ्रेले अतिरिक्त कृयाकलाप, परीक्षा, तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । प्याब्सन काभ्रेले शैक्षिक सुधारका लागि शैक्षिक कार्य पात्रोका आधारमा ग्रीड तथा पाठ विभाजन, उत्कृष्ट विद्यार्थी, शिक्षक सम्मान लगायतका कार्यक्रम सम्पन्न गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।