स्थानीय सरकारसँग प्राधिकरणको सम्झौता
पाँचखाल/नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको बक्यौता उठाउन, विद्युत चोरी नियन्त्रण गर्न र काठका जिर्ण पोलहरु हटाई लाईन सुधार गर्न नेपाल विद्युत्त प्राधिकरण पाँचखाल वितरण केन्द्रसंँग पाँचखाल र मन्डनदेउपुर नगरपालिकाले लिखित सहमति गरेका छन् ।
सहमति पत्रमा नगरपालिका भित्र पर्ने विद्युत प्राधिकरणका ग्राहकहरुले विद्युत प्राधिकरणको ऐन र विनियम अनुसार विद्युत महशुल तथा जरिवाना समयमा नतिरेमा नगरपालिका तथा वडा कार्यालयबाट पाईने सेवा सुबिधा रोक्का गर्ने र विद्युत महशुल समयमा तिर्न तथा विद्युत चोरी नगर्नको लागि वडा कार्यालय तथा जनप्रतिनिधिहरु मार्फत जनतालाई सचेत गराउने उल्लेख छ । विद्युत वितरण लाईन नपुगेर विद्युत सुविधाबाट बन्चित रहेका घर तथा बस्तिहरुमा वितरण लाईन विस्तार गरी पूर्ण बिद्युतिकरण भएको नगरपालिका बनाउन र जिर्ण अबस्थाका पोल तथा बिद्युतिय संरचनाहरुलाई सुधार गर्न पाँचखाल वितरण केन्द्रले योजना बनाई कार्यान्वयन गर्नेछ । विद्युत प्राधिकरणले सबै जनतालाई विद्युत सुविधा पाउनेगरी बनाएको योजना अनुसार अति बिपन्न (मिटर किनेर विद्युत उपभोग गर्न कठिन हुने) उपभोक्ताहरु र साँस्कृतिक महत्वका सम्पदाहरु पहिचान गरि नेपाल विद्युत प्राधिकरणकोको तर्फबाट नयाँ निःशुल्क मिटर जडान गर्नको लागि नगरपालिकाले एक महिना भित्र विवरण उपलब्ध गराई वितरण केन्द्रलाई बुझाउनेछ । वितरण केन्द्रले घरदैलो कार्यक्रम बनाई मिटर जडान गरिदिने छ । सहमति पत्रमा पाँचखाल वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख ई. मेघनाथ ढकाल तथा पाँचखाल र मन्डनदेउपुर नगरापालिकाको तर्फबाट नगर प्रमुख क्रमशः महेश खरेल र टोक बहादुर वाईवाले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
जिल्लाको सम्पुर्ण भु–भागमा विद्युत वितरण गर्दै आएको काभ्रे वितरण केन्द्र छुटिई पाँचखाल वितरण केन्द्र स्थापना भएको हो । पाँचखाल वितरण केन्द्रले २०७६ कार्तिक १ देखि पूर्णरुपमा विद्युत वितरण सँग सम्बन्धित सबै कार्यहरु गर्दै आएको छ । काभ्रेपलान्चोक जिल्लाको दुई नगरपालिका पाँचखाल र मन्डनदेउपुर, तीन गाउँपालिकाः भुम्लु, चौरीदेउराली र तिमाल आफ्नो भौगोलिक कार्यक्षेत्र बनाई कार्य सुरु गरेको वितरण केन्द्रले सेवाग्राहीलाई विद्युत सेवासँग सम्बन्धित जानकारी, प्रक्रियागत स्पष्टता, कार्य विभाजन अनुसार सम्पर्क गर्ने कार्यालय तथा कर्मचारी र केन्द्रका प्राथमिकता समेटेर तयार पारेको पुस्तिका ग्राहकलाई र स्थानीय तह मार्फत जनप्रतिनिधिलाई उपलब्ध गराउन सुरु गरेको छ । दैनिक रुपमा विद्युत चुहावट रोक्न तथा बाँकी बक्यौता असुली गर्नको लागि जिम्मेवारी तोकि कर्मचारी खटाईएकोले विद्युत चोरी भेटिने र कारबाहि गर्ने काम दैनिक हुन लागेको वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताउनु भयो । विद्युत चोरी तथा बक्यौता रकम समयमा नै तिरि अनाबस्यक जरिवाना र झन्झटबाट मुक्त हुनको लागि चेतना जगाउने उदेश्यले पत्रपत्रिका तथा सामाजिक संजाल मार्फत पनि सुचना प्रकाशन गरिरहेकोले दैनिक महशुल तिर्न आउनेको भिड लाग्ने गरेको छ । दैनिक २÷३ लाख संकलन हुने विद्युत काउन्टरमा १५ लाख सम्म महशुल संकलन भएको छ ।
विद्युतिकरण गर्नको लागि काठका कमसल पोलहरु प्रयोग गरि लाईन पु¥याईएको स्थानमा पोलहरु जिर्ण बन्दै गएकोले सुरक्षित तथा गुणस्तरिय विद्युत सेवा उपलब्ध गराउनु चुनौतिपूर्ण देखिन्छ । वितरण केन्द्र अन्तर्गत करिब आठ हजार पोल जिर्ण अबस्थामा छन् । मेन लाईनमा रहेका काठका पोल विस्थापन कार्य सकिएको र शाखा लाईनमा रहेका जिर्ण पोल फेर्ने क्रम तिव्र बनाईएको वितरण केन्द्र प्रमुख ढकालले जानकारी दिनु भयो । उहांका अनुसार दुई वर्ष भित्रमा लाईन सुधार कार्य गरिसक्ने र ग्राहकलाई सकभर बढि विद्युत खपत गराउने उद्देश्यले ट्रान्सफरमर थप्ने, अपग्रेड गर्ने र सहज रुपमा विद्युत मिटर उपलब्ध गराई सेवालाई चुस्त–दुरुस्त राख्ने कार्य शुरु गरिनेछ ।





