2026 April 22/ 12:45: 36am

बेथान्चोक/ग्रामीण विकास संस्था काभ्रेपलाञ्चोकले बेथान्चोक गाउँपालिकाका वडा नम्वर २, ३ र ५ नम्वर वडामा गुणस्तरीय शिक्षा प्रर्वद्धन तथा महिला, बालबालिका र युवाको अधिकारका लागि सशक्तिकरण परियोजना संचालन गरिरहेको छ । 
सन् २०१८ मा शुरु भएको कार्यक्रम २०२० सम्म संचालन हुनेछ । महिला तथा बालबालिकाको सशक्तिकरण, क्षमता अभिबृद्धि र जिविकोपार्जन, गुणस्तरीय शिक्षा सम्वन्धी कार्यक्रमका लागि सन् २०१८ मा ६८ लाख ८५ हजार ३ सय १० रुपैया खर्च भएको छ । जिल्ला स्तरीय समीक्षा बैठकमा संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले बालविकास केन्द्र, पुस्तकालय, प्रयोगशाला, विद्यालय ब्यवस्थापन समिति, शिक्षक र अभिभावकको सबलीकरणद्वारा गुणस्तरीय शिक्षा प्रर्वद्धन गरिरहेको बताउनु भयो । बाल अधिकार, महिला सशक्तिकरण र युवा अधिकारमा समुदायलाई संवेदनशील बनाउने र जीविकोपार्जनका अवसरहरुलाई स्थानीय तहमा बृद्धि गराउने र कृषि सहयोग तथा बजार पहुँचका लागि सहकारी मार्फत संगठित गर्ने निर्देशक तिमल्सिनाले बताउनु भयो । जिल्ला स्तरीय बैठकमा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, समन्वय अधिकारी सच्युतराज उप्रेति, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, गैसस महासंघका अध्यक्ष टोमप्रसाद सापकोटा, ग्रामिण विकास संस्थाका कार्यक्रम संयोजक सुलोचना सुवाल, खडानन्द गौतम, पुरुषोतम आचार्य लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले कार्यक्रम प्रभावकारी भएकाले अझै सशक्त बनाउन सुझाव दिनु भएको थियो । 
कार्यक्रमबाट लाभान्वितहरुले संस्थाले शुरु गरेको कार्यक्रमले जीवीकोपार्जन तथा नेतृत्व विकासमा थप टेवा पुगेका बताएका थिए । अस्मिता तिमल्सिनाले २५ हजार ऋण लिएर टनेल खेतीमा तरकारी गरिरहेको बताउनु भयो भने ज्योती महिला समुहकी कोषाध्यक्ष विमला अधिकारीले समुह मार्फत बचत गरी ५५ हजार रुपैया ऋण परिचालन गरिरहेको बताउनु भयो । लक्ष्मीनारायण महिला समुहकी गिता सापकोटाले मासिक बचत मार्फत ऋण परिचालन गरी जीवीकोपार्जन गरिरहेको बताउनु भयो । सानिमैया श्रेष्ठ, भगवान खत्री, सविना श्रेष्ठ लगायतले समुह मार्फत बाख्रा पालन, कुखुरापालन, तरकारी खेति लगायतका ब्यवासायीक कार्य मार्फत आर्थिक उपार्जन गरिरहेको बताउनु भयो । संस्थाले गुणस्तरीय शिक्षाका लागि १० वटा विद्यालयका दशवटा बालविकास केन्द्रमा कक्षा ब्यवस्थापन तथा शिक्षण सिकाई सामाग्रीहरुको सहयोग गरेको छ भने १ सय ७६ बालबालिकाहरुले बालमैत्री शिक्षा प्रणाली अनुसार सिक्ने अवसर प्राप्त गरेका छन् । १९ जना बालविकास केन्द्र र प्राथमिक तहका शिक्षकहरुले बालमैत्री शिक्षण प्रणाली र बाल अधिकार सम्वन्धी तालिम उपलब्ध गराएको, ४ वटा माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशालाका लागि सामाग्री सहयोग गरेको छ । 
१८ वटा महिला समुहमा ४ सय ५२ जना सदस्य रहेका छन् । १२ वटा बाल समुह र ९ वटा युवा समुह सक्रिय छन् । संस्थाले महिलाहरुको मासिक नियमित बचत र आर्थिक कारोवारका लागि दैनिक जीवन र जीविकोपार्जनमा सहयोग पु¥याएको छ । महिलाहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानूनहरुका बारेमा सचेतना, प्लास्टिक घर, विउ फलफुलका विरुवा र प्राविधिक सहयोग उपलब्ध गराएको छ । त्यस्तै सिपमुलक तालिम, सिलाई कटाई, कपडाको प्याड निर्माण, महिलालाई स्वरोजगार बनाउने अभियान शुरु गरेको निर्देशक डिएन तिमल्सिनाले बताउनु भयो । 
जलवायु अनुकूलन गाउँ बनाउँदै
ग्रामिण विकास संस्थाले जलवायु अनुकुल गाउँ निर्माण गर्ने उदेश्यले बेथान्चोक गाउँपालिका र भक्तपुरको सुर्यविनायक गाउँपालिकामा विभिन्न कार्यक्रम शुरु गरेको छ । बेथान्चोक गाउँपालिकाको वडा नम्वर १,२,३ मा  फलफुल खेती शुरु गरिएको छ । किवी, ओखर, अंगुर खेतिको तालिम उपलब्ध गराई ओखरलाई पकेट क्षेत्र बनाउने गरी नमुना वितरण गरिएको छ । पहिलो चरणमा १० जना कृषकले १ सय बोट ओखर लगाउने छन् ।