धुलिखेल/ल्याक सेन्टर काठमाडौको आयोजनामा काभ्रेको धुलिखेल नगरपालिका र रोशी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनका लागी स्थानीय विपद ब्यबस्थापन समिती र स्थानीय निकायको भुमिका सम्बन्धी एक दिने छलफलको आयोजना गरेको छ ।
छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले धुलिखेल नगरपालिकाले विपद ब्यबस्थापन समिती गठन, विपद् ब्यबस्थापन कोष स्थापना गरिसकेको बताउनु भयो । नगरपालिकाले नगरका सबै वडामा समेत समिती गठन गर्ने तयारी भएको, विपद् ब्यबस्थापन ऐन तयार गरी कार्यान्वयन गरिसकेको बताउनु भयो । विपद् बाजा बजाएर नआउने भएकाले सबै नगरपालिका तथा गाँउपालिकाहरुले विपद् ब्यबस्थापन तथा न्युनिकरणका लागी तयारी अबस्थामा रहनु पर्ने समेत ब्यान्जुले बताउनु भयो । कार्यक्रममा रोशी गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतम बर्ताैलाले गाउँपालिकाले विपद् ब्यबस्थापन समिति गठन गरी सकेको ऐन चाँडै ल्याउने बताउनु भयो । गाँउपालिकाले विपद जोखीम न्युनिकरणका लागि कार्यक्रमहरु गरिरहेको र कोषको स्थापना गर्ने बताउनु भयो । कार्यक्रममा विपद् ब्यबस्थापन गर्नका लागी बनेका नीति, निर्देशिका तथा कानुनहरु र विपद् ब्यबस्थापन समिति र स्थानीय निकायको भुमिका बारेमा गृह मन्त्रालयका उप सचिब तुलसी दाहालले राख्नु भएको थियो । कार्यक्रमको उद्देश्यका बारेमा कार्यक्रमका निर्देशक दिपक बस्यालले प्रकाश पार्नु भयो । संस्थाले भुकम्प पछि २ सय जना महिलाहरुलाई कानुनी सहायता दिएको, १ हजार १ सय भन्दा बढीको अपुग कागजपत्रहरु मिलाउन सहयोग गरेको नेपाल बार एशोसिएनका पुर्व अध्यक्ष रमेश हुमागाईले बताउनु भयो ।
कार्यक्रममा रोशी गाउँपालिका कार्यकारी अधिकृत डम्बरु दाहाल, धुलिखेल नगरपालिका विपद् ब्यबस्थापन शाखा प्रमुख श्रीविक्रम ब्यान्जु, नगरपालिका तथा गाउँपालिका वडा अध्यक्षहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।





