पनौती/पनौती नगरपालिका वडा नम्वर ४ एपटारमा रहेको बालोद्धार माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।
भवन उद्घाटन पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । न्यौपानेले नगरमा १२ वटा माध्यमिक विद्यालयमा उक्त विद्यालयको पनि राम्रै नतिजा पाएको बताउनु भयो । न्यौपानेले विद्यालय विग्रेमा शिक्षक जवाफदेहिता हुनुपर्ने बताउनु भयो । शिक्षक भनेका समाजका अगुवा भएकाले शिक्षकहरुले संस्कार सहितको शिक्षा दिनुपर्ने आवश्यकता रहेको न्यौपानेले बताउनु भयो । अभिभावक र विद्यालयको सम्बन्ध भनेको नङ र मासु जस्तै भएकाले अभिभावकले पनि विद्यालयमा अनुगमन गरी शैक्षिक सुधारका लागी सुझाब र सहयोग गर्नु पर्ने न्यौपानेले बताउनु भयो । स्थानीय तह अन्र्तगत विद्यालयहरु आएकाले विद्यालयका समस्याप्रति नगरपालिका सचेत छ, विद्यालयले पनि गुणस्तरीय, प्रविधियुक्त, सुधारिएको परिक्षा प्रणाली, शैक्षिक सुशासन र ई हाजिरी लगायतका सुधारका कार्य गर्न आवश्यक रहेको न्यौपानेले बताउनु भएको थियो । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख द्धारीका पोखरेलले जिल्लामा भुकम्पबाट क्षति भएका विद्यालय २ सय १९ वटा मध्ये १ सय ७८ वटा विद्यालयको निर्माण सम्पन्न भएको बताउनु भयो । आगामी वर्षमा बाँकी सम्पूर्ण भवनहरु निर्माण सम्पन्न हुने भएकाले भवन सगै शैक्षिक गुणस्तरका लागी सबै समुदाय लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धसिं थापाले विद्यार्थीको अनुपातमा भवन अझै अभाव रहेको बताउनु भयो । विद्यालयलाई वडाबाट गर्नुपर्ने सहयोग निरन्तर रहने भएकाले शैक्षिक क्षेत्र सुधार गर्नका लागी कुनै कसुर बाँकी राख्न नहुने समेत बताउनु भयो ।
कार्यक्रममा पनौती नगरपालिका बरिष्ठ प्रशासन प्रमुख ईन्द्रप्रसाद अधिकारी, विद्यालयका प्रध्यानाध्यापक बासुदेव बञ्जाराले ६ कोठे भुकम्प सुरक्षित भवन निर्माणका लागी ८४ लाख ३२ हजार लागतमा सम्पन्न भएको बताउनु भयो । विद्यालयमा २ सय ६० विद्यार्थीहरुले अध्ययन गरिरहेकाले बाँकी भवन पनि छिट्टै निर्माण हुने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक बद्री प्रसाद काफ्लेले राख्नु भएको थियो भने सभापतित्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुँवरले गर्नु भएको थियो ।





