श्रीखण्डपुर/सेन्टलम एल्बम एकेडेमीको आयोजनामा र प्रिमियर डेन्टलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क दन्त शिविरको आयोजना गरिएको छ ।
शिविर सँगै विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुले खाना महोत्सवको आयोजना गरेका थिए । विद्यालयले मासिक परीक्षाको परीक्षाफल प्रकाशित, खेलकुद सामाग्री हस्तान्तरण लगाएतका कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुले पढाईलाई प्रयोगात्मकमा उतारी दोस्रो खाना महोत्सव आयोजना गरेको प्रिन्सिपल अग्नी ज्ञवालीले जानकारी दिनुभयो ।
विद्यालयले विभिन्न समयमा टोल सरसफाई, प्रत्येक तीजमा आमाहरुको कार्यक्रम, असार १५ मा रोपाई कार्यक्रम, खेलकुद सप्ताह, स्वास्थ्य शिविर लगायतका कार्य गर्दे आएको ज्ञवालीले जानकारी दिनुभयो । समयको माग अनुसार विद्यार्थीहरुलाई पढाई सँगै प्रविधि र प्रयोगात्मक गर्दै शिक्षण सिकाईलाई अगाडी बढाएको समेत बताउनु भयो । कार्यक्रममा न्यू मानेश्वरी कन्ट्रक्सनका प्रोपाईटर जंग वहादुर जंगमले विद्यालयलाई २४ थान खेलकुद जर्सी, फुटबल, भलिबल लगाएतका सामाग्री विद्यालयका सञ्चालक अध्यक्ष अमन पोटेलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष पोटेले सहयोगी हातहरुलाई धन्यबाद दिँदै विद्यालयले गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी नराख्ने बताउनु भयो । शिक्षा भनेको ब्यापार नभई सामाजिक सेवा भएकाले शिक्षामा प्रविधि अनुसारको गुणस्तरीय शिक्षा दिने बताउनु भएको थियो ।
कार्यक्रममा ५ सय भन्दा बढीले दाँत परिक्षण गरेका थिए । परिक्षण पछि सहभागीहरुले खाना महोत्सवको अवलोकन गरेका थिए ।





