2026 April 21/ 11:16: 38pm

तीनवन शिल्यान्यास, दुईवटाको उद्घाटन
साँगा/नेपाल पुलिस विद्यालय साँगामा भुकम्पले क्षति पु-याएका विद्यालयका विभिन्न भवनहरुको पुर्नर्निमाण हुने भएको छ ।
 प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित समादेशक निवास र पुरुष छात्रावास भवनको उद्घाटन तथा नवनिर्मित भवनहरुको अवलोकन सँगै स्कुल परिसरमा निर्माण हुने एकेडेमिक ब्लक र २ वटा पुरुष छात्राबास भवनहरुको शीलान्यास गर्नुभयो । साथै उहाँले स्कुल परिसरमा वृक्षारोपण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन निर्माण पश्चात उत्कृष्ट सेवा प्रवाह गर्न थप उर्जा प्राप्त भई गुणस्तरीय शिक्षा प्रवाह गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
    समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक ई. लोकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा निर्माण सम्पन्न भई उदघाटन भएका भवनहरुमध्ये ३ तले पुरुष छात्रावास २ करोड ९७ लाख ४४ हजार ७ सय ७८ रुपैयाँ र ९१ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त भवनमा भुइँतलामा एउटा हल सहित ६ वटा कोठाहरू तथा पहिलो र दोस्रो तलामा ८÷८ वटा कोठाहरू गरेर जम्मा २२ वटा कोठाहरू रहेका छन् ।
 यसैगरी समादेशक निवासको भवन ७५ लाख ६० हजार ३ सय २६ रुपैयाँ २ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो ।  उक्त भवनमा भुई तलामा ४ वटा कोठा र पहिलो तलामा १ वटा गरेर जम्मा ५ वटा कोठाहरू रहेका छन् । यस्तै शीलान्यास भएकामध्ये एकेडेमिक ब्लकको भवन र पुरुष छात्रावास भवनको निर्माण गर्न तुल्सीभक्त कन्सट्रक्सन प्रालिसँग निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । ३ तलामा निर्माण हुन लागेको पुरुष छात्रावास भवनको जम्मा २१ वटा कोठाहरू रहने छन् । एकेडेमिक ब्लकमा आधुनिक प्रयोगशाला सहित ३९ कोठाहरु रहने छन् ।
शिलान्यास भएको अर्को पुरुष छात्राबास भवनको निर्माण गर्न अविसा निर्माण सेवा एण्ड सेवा प्रालिसँग निर्माण सम्पन्न गर्ने निर्माण सम्झौता भएको छ । यस भवनमा जम्मा ३० वटा कोठाहरू रहनेछन् । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालय र नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुबाट विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल तथा संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।