बनेपा/नेपाल राहत शिक्षक समिति काभ्रेपलाञ्चोकले केन्द्रिय समितिसँग सरकारले गरेको पटक पटकको सम्झौता कार्यान्वयनको माग गर्दै जिल्लामा बृहत्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष चित्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नेताहरुले राहत शिक्षकहरुले उठाएका मागहरुको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनु भएको थियो । राहत शिक्षकहरुले राहत अनुदान कोटालाई स्वीकृत दरवन्दीमा रुपान्तरीत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी ब्यवस्थापन गर्न, विभिन्न आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघको उपस्थितिमा सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्न र आन्तरिक प्रतिस्पर्धा गराउँदा विगत देखि स्थापित नजिरलाई न्यूनतम मापदण्ड मानी स्थायी ब्यवस्थापन गर्न माग गरेका छन् । अन्र्तक्रिया कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश ३ का अध्यक्ष दुर्गा सिं लामा, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका जिल्ला सचिव रामचन्द्र थापा, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्लाका सह सचिव केपी पाण्डे, नेपाल राहत शिक्षक समितिका केन्द्रिय सदस्य उजेली वाईवा लगायतले राहत शिक्षकहरुका मागलाई अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् । कार्यक्रममा जिल्ला सचिव रविन मैनाली, जिल्ला सदस्य इन्द्रप्रसाद घिमिरे लगायतले मागका बारेमा जानकारी गराउनु भएको थियो ।





