धुलिखेल नगर ख्रीष्टिय समुदायको आयोजनामा ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सुरु पाष्टर काजिमान तामाङले सुरुको प्रार्थनाद्धारा गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पाष्टर दिपक राईले गरेका थिए भने ख्रीष्टमस सन्देश पाष्टर देवराज भण्डारीले गरेका थिए । ख्रीष्टमस सन्देश दिने क्रममा पा. देवराज भण्डारीले ख्रीष्टमस एउटा प्रेमको पर्व रहेको र जुन प्रेम ख्रीष्ट येशूले सम्पूर्ण जगतका मानिसहरुलाई गरिने बताउनुभयो । उहाँले आजभन्दा २ हजार वर्षअगाडि पापीहरुको उद्धार गर्न र मुक्ति दिनको लागि उहाँको जन्म भएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले बाइबलले बताए जस्तै येशु बाटो जीवन र सत्य रहेको र उहाँको सत्य मार्गमा लाग्न अभिप्रेरित गर्नुभयो । जीवनलाई सार्थकता दिन सत्यको पछि लाग्न अनुरोध गर्नुभयो । उहाँले सबै धर्मको आ–आफ्नै आस्था रहेको र सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभयो । मन्तव्यकै क्रममा उहाँले धुलिखेल नगरलाई धार्मिक रुपमा समानता दिनको लागि नगरपालिकाको भावी योजना रहेको बताए । यसको लागि धुलिखेल नगरमा सम्पूर्ण सम्प्रदायको सम्मानको लागि र साँस्कृतिक महत्वका लागि सबै धर्मलाई समेटिने खालको धार्मिक पार्क बनाउने योजना रहेको बताए । उनले इसाईहरुलाई कुनैपनि समयमा सहयोग गर्न धुलिखेल नगरपालिका तयार रहेको कार्यक्रममा बताउनुभयो । कार्यक्रममा धुलिखेल नगर ख्रीष्टिय समुदायको तर्फबाट प्रमुख अतिथि व्याञ्जुलाई मायाको चिनो पा.देवराज भण्डारी तथा पा. अजय शाहबाट प्रदान गरिएको थियो ।
कार्यक्रममा धुलिखेल नगर क्षेत्रभित्रका मण्डलीका पाष्टर, अगुवा, डिकन लगायत ख्रीष्टियनहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नगरभित्रका स्थानीय मण्डलीका संगीत झुण्डले ख्रीष्टमस सम्बन्धी गीत तथा नृत्यहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको समापन पाष्टर अजय शाहले गरेका थिए ।
त्यसैगरी धुलिखेलमा रहेको म्यासेडोनिया बप्तिस मण्डलीले पनि एक कार्यक्रमको आयोजना गरी ख्रीष्टमस मनाएको छ । कार्यक्रममा ख्रीष्टमस सन्देश मण्डलीका पाष्टर देवराज भण्डारीले बाँड्नुभएको थियो । ख्रीष्टमस सन्देश दिने क्रममा उहाँले ख्रीष्टमस येशूको जन्मउत्सवमा मनाइने एउटा महान पर्व हो र यसमा मुक्तिदाता येशूको जन्म भएको घोषणा गर्दै संसारका सबै मानिसहरुलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, ख्रीष्ट येशू मुक्तिदाता हुनुहुन्छ, ख्रीष्ट येशूमा जीवन छ, ख्रीष्ट येशू साँचो परमेश्वर हुनुहुन्छ र जिवित परमेश्वर हुनुहुन्छ भनेर सारा संसारलाई दिने एउटा सन्देश नै ख्रीष्टमसको मुख्य सन्देश रहेको बताउनुभयो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत रहेको थियो ।





