2026 April 21/ 11:16: 56pm

अधिबेशनबाट गान्धिव गौतमको नेतृत्व 
बनेपा/जिल्ला बाल क्लव सञ्जाल, काभ्रेको पाँचौ जिल्ला बाल भेला बनेपामा सम्पन्न भएको छ । भेलाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्नु भयो । भेलाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले बालबालिकाहरुको सुन्दरता ज्ञान र क्षमता सहितको भित्री सुन्दरता रहेको बताउनु भयो । 
‘पढेर मात्रै होईन चेतना र अनुभवले पनि बालबालिकाहरुको भविश्य निर्धारण गर्नुपर्छ’– मन्त्री बास्कोटाले भन्नुभयो–‘बालबालिकाहरुका लागि सरकारले दिवा खाजाको ब्यवस्थापन गरेको छ ।’ जिउने कला र वातावरण बनाउनु पर्ने बताउँदै मन्त्री बास्कोटाले सोच्ने कुरा बदलिनु पर्ने बताउनु भयो । श्रमप्रति सम्मान गर्नु पर्ने बताउँदै समाजलाई, परिवारलाई, ब्यक्तिलाई भड्काउन थालिएको मन्त्री बास्कोटाले बताउनु भयो । ‘समयसँगै समाज बदलिएको छ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘अधिकारका लागि बालबालिकाहरुको गर्भ देखिकै संरक्षण गरिनु पर्छ ।’ बाल अधिकार गर्भ देखि नै शुरु हुने बताउँदै मन्त्री बास्कोटाले बालबालिकाहरुको जीवनको जिम्मेवारी अभिभावकहरुको हातमा निर्भर हुने बताउनु भयो । ‘परिवार, छिमेकी, समाज हुँदै विद्यालयबाट भविष्य निर्धारण हुन्छ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘बालबालिकाहरुलाई संस्कार, सभ्यता, चेतना सँगै शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।’ बालबालिकाहरुलाई विद्यालय क्षेत्र बाहिर नराख्न सरकारले दिवा खाजा लगाएका सेवा सुविधाहरु उपलब्ध गराउन थालेको उहाँले बताउनु भयो । 
जिल्ला अध्यक्ष रञ्जन पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल अधिकारको क्षेत्रमा कार्य गर्ने, बाल मैत्री वडा घोषणा गर्ने, पूर्व बाल क्लवका अध्यक्षहरु तथा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । बालबालिकाहरुको विभिन्न गतिविधिहरु समेत समेटेर स्मारिका प्रकाशन गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, एसओएस बालग्रामका निर्देशक इश्वरी पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, कृष्णचन्द्र आचार्य, संस्थापक अध्यक्ष निगम हुमागाई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बालअधिकारको क्षेत्रमा निरन्तर सहयोग पु¥याएको भन्दै अधिकारकर्मी भोजराज तिमल्सिना, धुलिखेल नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम र सामाजिक अभियन्ता कृष्णचन्द्र आचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सचिव निश्चल श्रेष्ठले संचालन गर्नु भएको थियो । गान्धिव गौतमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती गठन गरेको छ । बालभेलाले उपाध्यक्षमा सुवोध धिमाल सचिवमा सह–सचिवमा सविना विक कोषाध्यक्षमा सुभद्रा तिमल्सिना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुजन सापकोटा, काजोल लुकलुङे, सन्जु उप्रेदी सुदिना हुमागाइ, मनोज रानामगर, विनिता चिमौरीया, रेणु थिङ र  मालती कुँवर चयन भएका छन् । 

घोषणापत्र जारी
    सुनिश्चित बालअधिकार समृद्ध नेपालको आधार भन्ने नाराका साथ जिल्ला बाल संजालद्धारा आयोजित बाल भेलाले बालअधिकार महासन्धि, नेपाल गणराज्यको संविधान र बालबालिका सम्बन्धी ऐन कानून र नीति नियमहरुको सम्मान गर्दै राज्यका सबै तहगत सरकारसँग घोषणापत्र जारी गरेको छ । जिल्लाका सम्पूर्ण तहहरुलाई बालमैत्री बनाउन, बालबालिकामाथि भइरहेको सबैखाले यातना, हिँसा र दुव्र्यवहारको अन्त्य गर्न, सबै बालबालिकाको लागि शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचको व्यवस्था गरी कार्यान्वयन गर्न, जिल्लालाई बालश्रम र बाल विवाह मुक्त बनाउन, सबै क्षेत्रमा बालमैत्री, बालसुलभ तरिकाले बालबालिकाको पहुँचयोग्य न्यायको व्यवस्था गर्न, बाबु–आमा गुमाएका अभिभावक विहिन बालबालिकाहरुलाई राज्यले अभिभावकत्व ग्रहण गरी राज्य नै संरक्षक बन्न र सबै खाले अपाङ्गता भएका बालबालिकाहरुको उचित संरक्षकत्व राज्यले ग्रहण गर्न माग गरेको छ ।