ललितपुर\/बागमती गाउँपालिकाले एक हप्ते एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । मंसिर २२ गते देखि शुरु भएको घुम्ति शिविर २७ गतेसम्म सम्पन्न भएको होे ।
गाउँपालिकाले २२ गते वडा नं. ७ गिम्दी, २३ गते वडा नं.६ आश्राङ, २४ गते वडा नं. ४ प्यूटार, २५ गते वडा नं. २ माल्टा, २६ गते वडा नंं ३ भट्टेडाँडाँमा घुम्ति शिविर सम्पन्न भएको बागमती गाउँपालिकाले जनाएको छ । त्यस्तै २७ गते वडा नं. ५ इकुडोल र २८ गते वडा नं. १ घुसेलमा पुगेर घुम्ति शिविर सम्पन्न गरिने बागमति गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।
घुम्ति शिविरमा चालु आर्थिक वर्षमा सञ्चालन हुने गाउँपालिकाका योजना उपभोक्ता समितिसँग सम्झौता गरेको छ । त्यस्तै घुम्ति शिविरमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंक खाता खोलिएको, पशु सेवा परामर्श प्रदान गरिएको, पशुको पशु बीमाको रकम वितरण गरिएको अध्यक्ष लोप्चनले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिविरमा स्थानीयको सुगर, प्रेसर परीक्षण गरिएको र महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको छ । प्यूटारका १०३ वर्षिय ज्येष्ठ नागरिकलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंक खाता खोलिएको छ । घुम्ति शिविरमा सम्बोधन गर्दै अध्यक्ष लोप्चनले गाउँपालिकाले स्थानीयलाई नजिकबाट सेवा प्रदान गर्नका लागि घुम्ति शिविर सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले घुम्ति शिविरले कतिपय स्थानीय सेवाग्राही घरैमा पुगेर सेवा प्रवाह गरिएको बताउँदै आगामी दिनमा शिबिर थप प्रभावकारी बनाइने बताउनुभयो । गाउँपालिकाका उपाध्क्ष रञ्जना घिमिरेले एकहप्ते घुम्ति शिबिरले जनप्रतिनिधिलाई स्थानीयको समस्या सुनुवाई गर्ने मौका प्रदान गरिएका भन्दै उहाँहरुको समस्याको समाधान गर्ने गरी शिबिर सञ्चालन भएको दाबी गर्नुभयो । घुम्ति शिबिर जुन वडामा सञ्चालन गरियो सोही वडाका वडाध्यक्षको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहले भने यस्ता घुम्ति शिबिर समय समयमा सञ्चालन गरिरहनुपर्ने सुझाव दिएका थिए । शिबिर गाउँपालिकाका आइटी अफिसर मिलन शर्मा घिमिरेको संयोजकत्वमा सञ्चालन भएको थियो ।





