धुलिखेल/समुदाय स्तरबाट खोलिएको धुलिखेल सामुदायिक अस्पतालले २३ औं बार्षिकोत्सव मनाएको छ । २८ शैया र थोरै जनशक्तिबाट शुरु भएको उक्त अस्पताल अहिले ४ सय शैयाका साथै हजार भन्दा धेरै जनशक्तिका साथ संचालनमा छ ।
थोरै शुल्कमा विशेषज्ञ सेवा सहित विरामी भर्ना हुँदा कम शुल्कमा शैयाको रकममा विरामी र उसको कुरुवा सहितलाई तीन छाक खानाको समेत ब्यवस्था गर्ने उक्त अस्पताल दक्षिण एशियाकै नमुना मानिन्छ । सरसफाईका हिसाबले पनि गुणस्तर कायम गर्न सफल धुलिखेल अस्पतालले स्वास्थ्यसँगै शिक्षा पनि प्रदान गरेको छ । १५ हजार ३ सय ९५ जना विद्यार्थीलाई शिक्षा प्रदान गरेको उक्त अस्पतालले दैनिक १ हजार भन्दा धेरैलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ग्रामिण भेगका नागरिकहरुको स्वास्थ्य सेवाका लागि जिल्ला र आसपासका क्षेत्रमा सामुदायिक क्लिनिक समेत संचालन गरेको छ । विभिन्न क्षेत्रबाट नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै आएको धुलिखेल अस्पताल समुदाय स्तरबाट संचालित नमुना अस्पताल हो । धुलिखेल नगरपालिका र अस्पताल क्षेत्रका नागरिकहरुले जग्गा सहितको आर्थिक सहयोग प्रदान गरी शुरु गरेको अस्पतालको गुणस्तर कायममा अझै ध्यान दिनुपर्ने सहभागीहरुले बताएका छन् ।
काठमाडांै विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, अस्पतालका संस्थापक तथा विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले अस्पतालको सेवा तथा शिक्षा र स्वास्थ्यलाई अस्पतालले लिएको लक्ष्य अनुसारको उदेश्य प्राप्ति गरेको माकजु र शर्माले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले स्वास्थ्य पहिलो शर्त बनाउँदै शिक्षामा ध्यान दिएको बताउनु भयो । शिक्षा र स्वास्थ्यसँगै नागरिकहरुलाई प्रदान गर्ने सेवामा नगरपालिकाले अभिभावकको भूमिका निभाउँदै आएको प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा प्रोफेसर डा. राजेन्द्र कोजुँ, पत्रकार विजयकुमार पाण्डे, डा. गोकुल भट्ट लगायतले मन्तब्य राख्नु भएको थियो । गायिका आनी छोईङ्ग डोल्माले सांगीतिक प्रस्तुति गर्नु भएको थियो ।





