विद्यालय पुनर्निर्माणमा छलाङ्ग
भुम्लु/नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षालाई आय–आर्जनसँग जोड्न सक्नुपर्नेमा जोड्दिनुभएको छ । उहाँले सार्वजनिक शिक्षाको महत्व बढाउँदै गएकाले शिक्षालाई सर्वसुलभका साथै आयआर्जनमा जोड्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री बास्कोटाले २०७७ भित्रै जिल्लाका सबै विद्यालयको पुनर्निर्माण सम्पन्न गर्ने गरी कार्य भईरहेकाले अबको निर्वाचनका कसैले पनि विद्यालय बनाउँछु भन्दै मत माग्नु नपर्ने बताउनु भएको छ । जिल्लाको कोशीपारी स्थित भुम्लु गाउँपालिकाको सिम्थली स्थित अरुणोदय माध्यमिक बिद्यालयको नवनिर्मित १८ कोठे भवनको हस्तान्तरण तथा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने बताउनुभयो । मन्त्री बाँस्कोटाले कितावमा लेखिएको मात्रै नभई बाहिरी ज्ञान, सामाजिक ज्ञान र प्रयोगात्मक ज्ञानको शिक्षा प्रदान गर्न सुझाव दिनु भयो । सरकारले हरेक क्षेत्रको विकासलाई गुणस्तरीय बनाउँदै लगेको बताउँदै मन्त्री बास्कोटाले शिक्षामा भौतिक पूर्वाधारसँगै नयाँ शिक्षा नीति मार्फत ब्यवहारीक र विद्यार्थीहरुले अध्ययनसँगै आयआर्जन गर्न सक्ने खालको शिक्षा उपलब्ध गराउने गरी सरकारले निर्णय गरेको बताउनु भयो । समुदायले हरेक विकासलाई संरक्षण गर्नुपर्ने बताउँदै मन्त्री बास्कोटाले विकासलाई सदुपयोग र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो ।
नीजि क्षेत्रको शिक्षामा आकर्षण बढेको सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दा नीजि क्षेत्रको भन्दा धेरै भौतिक पूर्वाधार लगायतको ब्यवस्था भएकाले विद्यार्थीहरुको रोजाई बन्ने गरी कार्य गर्न शिक्षक र अभिभावकहरुलाई अनुरोध गर्नु भयो । मुलुकको विकासमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका भएकाले सामुदायिक विद्यालय प्रतिको गुणस्तर आकर्षण बढाउनु पर्नेमा मन्त्री बास्कोटाले जोड दिनुभयो । भुम्लु गाउँपालिकाको सिम्थलीको अरुणोदय र चौबासमा रहेको सेतीदेवी माविको उद्घाटनसँगै मन्त्री बास्कोटाले असल नीति र असल कार्यान्वयन प्राथमिकतामा रहेको बताउनु भयो । श्रमिक शक्तिको सम्मान गर्दै जहाँ नागरिक त्यहाँ विकास भन्ने अभियानलाई तिब्र बनाईएको मन्त्री बास्कोटाले बताउनु भयो । नागरिकहरुलाई विकासमा गुणस्तर कायम गरी समयमै सम्पन्न गर्ने निर्देशन दिदै मन्त्री बास्कोटाले मुलुकमा उत्पादन केन्द्र बनाउने गरी कार्य अगाडी बढाईएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले मुलुकले तयार गर्ने नीति महत्वपूर्ण भएकाले त्यहि नीति अनुसार विकास कार्य अगाडि बढाउनु पर्ने बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले शिक्षा महत्वपूर्ण भएकाले त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि जोड दिएको बताउनुभयो । २०७७ चैत्र भित्र जिल्लाका सबै विद्यालयहरुको पुनर्निर्माणका लागि द्रुत गतिमा निर्माण कार्य भईरहेको बताउनु भयो । भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले विद्यालयको पूर्वधार निर्माणसँगै अब गुणस्तरीयतामा ध्यान दिन सक्नुपर्नेमा जोड्दिनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका सदस्य प्रेम लामा, विद्यालयका प्रधानाध्यापकहरु, अध्यक्षहरु, शिक्षकहरुले विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न सक्नु पर्नेमा जोड दिएका थिए ।
धमाधम भवन निर्माण
काभ्रेपलाञ्चोक जिल्लामा भुकम्पपछि विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको छ । २०७७ चैत्र मसान्त भित्र सम्पन्न गरिसक्ने गरी विद्यालयहरुको निर्माण कार्यलाई तिब्रता दिईएको छ । जिल्लामा एसियाली विकास बैंकको ऋण सहयोगमा कालिदेवी प्रा वि, सिम्थली, जय सरस्वती प्रावि, ज्याम्दी, कालिदेवी प्रावि, मण्डनदेउपुर, सेतिदेवि प्रावि कानपुर, जनता प्रावि नमोबुद्ध, माहाकाली प्रावि नमोबुद्ध, रक्तकालि प्रावि नमोबुद्ध, खडकेश्वरी प्रावि चापाखोरी, जनजागृति प्रावि पाचखाल, जनसेवा प्रावि मण्डनदेउपुर, माहांकाल प्रावि टुकुचा, जनजागरण प्रावि पाचखाल, गंगादेवि प्रावि पाँचखाल, माहादेव प्रावि मण्डनदेउपुर निर्माण सम्पन्न भएका छन् । त्यस्तै एसियाली विकास बैंकको ऋण सहयोगमा सरस्वती उमावि गोठपानी, वागदेवी उमावि ज्याम्दी, प्रकाश मावि भुम्लुटार, कालिका मावि पाँचखाल, शंखेश्वरी महालक्ष्मी मावि शंखु, राधाकृष्ण मावि चापाखोरी, वालुवा मावि वालुवा, महाकाली मावि वालुवापाटी, सेतीदेवी मावि भुम्लु, अरुणोदय मावि सिम्थली, सिर्जनशील जनता उमावि मादनकँुडारी, सातमुल मावि कानपुर निर्माण सम्पन्न भएका छन् । नमूना विद्यालयका रुपमा सञ्जीवनी नमूना मा वि धुलिखेल र प्रभा मावि कात्तिके देउरालीको निर्माण कार्य सम्पन्न भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा अरनिको मावि, चौरीदेउराली गा. पा. दाप्चा मा वि, नमोबुद्ध न.पा., ग्रामोन्नती मावि, महाभारत गा.पा., जागृती मावि, चौरीदेउराली गा.पा., जोगेश्वर मावि, रोशी गा.पा., जोरपाटी मावि, पाँचखाल न.पा., कुशेश्वर मावि, तिमाल गा.पा., महाकाली मावि, मण्डनदेउपुर न.पा., सेतीदेवी मावि, भुम्लु गा.पा., उमा सहशिक्षलय मावि, मण्डनदेउपुरका विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
त्यस्तै एशियाली विकास बैंकको ऋण सहयोगमा ठेक्का प्रकिया शुरु भईसकेका डि.आर.एस.पि.अन्र्तगतका विद्यालयहरुमा भालेश्वर मावि पनौति, श्रीखण्डपुर मावि धुलिखेल, सर्वमंगला मावि पाँचखाल, ज्ञानेश्वरी मावि पाँचखाल, सरस्वती मावि वेथानचोक, लक्ष्मी नारायण मावि रोशी, हिमालय मावि सिपाली, सेतीदेवी मावि धुलिखेल, डेडिथुम्का मावि मण्डनदेउपुर रहेका छन् । भारतीय राजदुताबासको सहयोगमा भगवती मा.वि. खरेलथोक, आजाद मा.वि. बनेपा, आजाद मा.वि. बालुवा, लक्ष्मी नारायण मा.वि. श्यामपाटी, खाँडादेवी मा.वि. नाग्रेगगर्चे, कानपुर मा.वि. कानपुर, शारदा मा.वि. सुन्थान, भैरव मा.वि. गोकुले, जनहित मा.वि. मिल्चे र दुग्धेश्वर मा.वि. पाँचखाल रहेका छन् ।





