बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले रोशी गाउँपालिकाको सहयोगमा रेडियो विकास पत्रकारिता तालिम आयोजना गरेको छ । रोशी गाउँपालिका अध्यक्ष डिबी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बोल्दै अध्यक्ष लामाले स्थानीय तहले शुरु गरेका असल अभ्यासहरुका बारेमा संचारमाध्यमहरुले नागरिकलाई जानकारी गराउनु पर्ने बताउनु भयो ।
अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले रोशीको विकास र समृद्धका लागि जनप्रतिनिधिहरुले गरिरहेका अभ्यासहरुको बारेमा जानकारी गराउन कन्जुस्याई गर्न नहुने बताउनु भयो । सरकारका सिमित श्रोत र साधनबाट नागरिकहरुको चाहना पुरा गर्ने प्रयास गरिएको बताउँदै अध्यक्ष लामाले संचारमाध्यमकको तागतबाट विकासका चरणहरु पुरा हुने बताउनु भयो । जिल्लामा रहेका रेडियोका सहभागिहरुको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षक रेडियोकर्मी सन्तोष भट्टराईले रेडियोका विविध पक्षहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्य समिति सदस्य सचित खड्काले संयोजन गर्नु भएको थियो । उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य इश्वरी ओझाले संचारकर्मीहरुले आचार संहिता पालना गर्नु पर्ने बताउनु भयोे । प्रदेश नम्वर ३ का उपाध्यक्ष यदुनाथ गौतमले संचारमाध्यमहरुको गुणस्तर बृद्धीका लागि क्षमता विकास महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघका सल्लाहकार भोजराज तिमल्सिनाले पत्रकारिता पेशाबाट मात्रै पत्रकारहरु बाँच्न कठिन भएकाले बैकल्पिक पेशा अपनाउन थालिएकाले यहि पेशाबाट बाँच्न सक्ने गरी कार्य गर्न सुझाव दिनु भयो । सल्लाहकार भोला थापाले महासंघले गरेका गतिविधिहरु मार्फत जिल्लामा गुणस्तर पत्रकार उत्पादन र पत्रकारिताको विकासमा थप टेवा पुग्ने बताउनु भयो । सल्लाहकार महेश पौड्यालले पत्रकारिताका दुख सहन सक्नेले मात्रै यहि पेशाबाट अगाडी बढ्न सक्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस संगठन नेपालका अध्यक्ष भुवन रायमाझीले सबै पत्रकारहरुलाई रेडियोको महत्व बुझेर कृयाशिल हुन अनुरोध गर्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो । प्रेस युनियनका अध्यक्ष कपिल कोईरालाले पत्रकारहरुको हक हितका लागि महासंघ कृयाशिल रहनु पर्ने बताउँदै गुणस्रीय पत्रकारिताका लागि दक्ष जनशक्ति उत्पादन महत्वपूर्ण भएको बताउनु भयो । पत्रकार महासंघ काभ्रे शाखाले जिल्लाका संचारकर्मीहरुको गुणस्तर बृद्धीका लागि विभिन्न चरणका तालिमहरु विभिन्न विद्यामा संचालन गर्दै आएको छ ।





