धुलिखेल/बर्डफ्लु रोग नियन्त्रण सम्वन्धी गठित जिल्ला स्तरीय प्राविधिक समितिको बैठक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।
जाडो शुरु भए सँगै बर्डफ्लुका भाईरसहरु सक्रिय हुने भन्दै प्राविधिक समितिले कुखुरा ब्यवसायीहरु र किसानहरुलाई सचेत रहन अनुरोध गर्ने निर्णय गरेको छ । किसानहरुले अपनाउनु पर्ने बायो सेक्युरिटी, नाकाहरुमा चेकजाँच र पक्षींहरुको स्वास्थ्यका बारेमा ख्याल पु¥याउन अनुरोध गर्ने निर्णय भएको छ । सदस्य सचिव जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा. मगोलप्रसाद शाहले जिल्लामा भएका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । बैठकले काभ्रे र उपत्यकाको सिमानामा पर्ने साँगा र विपी राजमार्ग अन्र्तगत रोशी गाउँपालिकाको मंगलटारमा चेकपोस्ट राख्ने निर्णय गरेको छ । पंक्षीको ओसारपसार गर्ने क्रममा सुरक्षा अपनाउन सरोकारवाला निकायहरुलाई सचेत गराउने निर्णय भएको छ ।
बर्ड फ्लुको भाईरस जाडोयाममा सक्रिय हुनेछ । २०७२ सालमा जिल्लामा बर्डफ्लुको भाईरस फैलँदा जिल्लामा धेरै किसानहरुको क्षति भएको थियो । ब्यवसाय गर्दा कानुनी रुपमा फर्म दर्ता गर्ने, वीमा गरेर ब्यवसाय संचालन गर्न अनुरोध गरेको छ । गतवर्ष छिमेकी जिल्लाहरुमा बर्डफ्लु भाईरस फैलिए पनि जिल्लामा अपनाईएको सुरक्षाका कारण जिल्लामा उक्त भाईरस भित्रन पाएन ।





