2026 April 21/ 10:31: 05pm

    धुलिखेल/इयर केयर नेपालले जिल्लाका ६ वटा नगरपालिका र तेमाल गाउँपालिकामा संचालन गरेको विद्यार्थीहरुको कान जाँच परिक्षण र उपचार कार्यक्रम समापन भएको छ । २०७५ पुष देखि शुरु भएको कार्यक्रम २०७६ कार्तिक मसान्तमा समापन गरिएको हो । 
    बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिकाका १ सय ३० विद्यालयका २२ हजार ३ जना विद्यार्थीहरुको कान परिक्षण गरिएको थियो । संस्थाले विद्यालय तहका १५ वर्ष मुनिका बालबालिकाहरुको कान परिक्षण गरी कानका कारण केटाकेटीहरु बहिरा  नबनुन् भन्ने उदेश्यले विभिन्न जिल्लामा यो कार्यक्रम संचालन गरिएको  संस्थाका उप सभापति पुरु रिसालले जानकारी गराउनु भयो । धुलिखेलमा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कान नदुख्नेहरुले पनि वर्षमा एक पटक कान जाँच गर्नु पर्ने संस्थाका अध्यक्ष डा। मिलन महर्जनले बताउनु भयो । ललितपुर, भक्तपुर, काभ्रे, डोल्पा, जुम्ला, सोलुखुम्बु लगायतका जिल्लाहरुमा इयर केयर नेपालले कार्यक्रम संचालन गरेको छ । विद्यालयका अलावा दक्षिणकाली, रसुवा, नुवाकोट लगायतका गुम्बाहरुमा रहेको भिक्षुहरुको पनि कान परिक्षण गरिएको थियो । 
    कार्यक्रममा बालबालिकाहरुमा हुने कानको समस्यालाई न्यूनीकरण गर्न समयमै परिक्षण गर्ने र परीक्षण पछि नियमित उपचार गर्ने सल्लाह विशेषज्ञहरुले दिएका छन् । जिल्लामा परिक्षण गरिएका विद्यार्थीहरु मध्ये २ सयमा मात्रै समस्या देखिएको उपसभापति पुरु रिसालले जानकारी दिनु भयो । कार्यक्रममा स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा। प्रकाश काफ्ले, राजेशमान राजभण्डारी लगायतले संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।