बनेपा/सिस्नुपानी नेपालले करमैत्री यात्रा शुरु गरेको छ । बनेपाबाट शुरु गरेको उक्त यात्रा देशका विभिन्न स्थानमा संचालन हुनेछ । आगामी मंसिर १ गते देखि ७ गतेसम्म कर सप्ताहको पूर्व सन्ध्यामा सिस्नुपानी नेपालले आन्तरिक राजश्व विभागको आयोजनामा देशका विभिन्न शहरमा कर मैत्री यात्रा प्रारम्भ गरेको हो ।
नागरिकले सहज रुपमा कर तिर्न उत्साह भर्ने र तिरिएको करको सदुपयोग गर्न खबरदारी गर्ने सिस्नुपानी नेपालको अभियान छ । विशेषगरी कर लुकाईने क्षेत्रहरुको पहिचान गरी कर तिर्न लगाउने, कर तिर्न जाँदा सहज रुपमा कार्यालयका कर्मचारीहरुले सहजीकरण गर्ने र तिरिएको कर सरकार र सरकारी निकायले सदुपयोग गर्न झकझकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेले बताउनु भयो । मुलुक भित्रै संकलन भएको कर मार्फत मुलुककोे समृद्धि सम्भव भएकाले सबै क्षेत्रबाट कर छली भन्दा पनि कर तिर्ने उत्प्रेरणा भर्नुपर्ने सांसद गंगाबहादुर दोङ्गले बताउनु भयो । देशका सबै क्षेत्रमा कर शिक्षा संचालन गर्ने, करप्रति नागरिकहरुलाई रहर भर्ने उद्देश्यले सिस्नुपानी नेपालसँगको सहयात्रा शुरु गरिएको आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताउनु भयो ।
करमैत्री यात्राको पहिलो दिन बनेपामा आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख डम्मरुप्रसाद पराजुलीको अध्यक्षता रहेको थियो । कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, उपाध्यक्ष धिरेन्द्र प्रेमर्शी, कलाकार मनोज गजुरेल, सरोज घिमिरे, अर्जुन पराजुली, गायक शिशिर योगीको प्रस्तुति रहेको थियो । काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले संयोजन गरेको कार्यक्रममा जिल्लाका सांसदहरु, नगर प्रमुखहरु, कार्यालय प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।





