2026 April 21/ 09:18: 20pm

    बनेपा/सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा शनिबार ६ घण्टामा ४ वटा कार्यक्रममा सहभागी हुनु भएको छ । सक्रिय एवं काभ्रेली जनताका ढुकढुकी बास्कोटा मन्त्री भए लगत्तै जिल्लामा शुरु भएका विकासका परियोजनामा झण्डै २५ अर्ब रकम विनियोजन भएको छ । 
    शनिबार विहान बनेपा नगरपालिकाको वडा नम्वर ४ को वडा भवन र महादेवखोलाको पुल शिल्यान्यास गरेका मन्त्री बास्कोटाले विद्यालय भवन हस्तान्तरणसँगै बनेपामा रहेको शिक्षक हित सहकारीको साधारण सभामा भाग लिएका थिए । सोहि कार्यक्रमहरुमा बोल्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले नेपाली भूमिको रक्षा गर्ने बताउनु भएको छ । ‘छिमेकीलाई मन लाग्दैमा नेपालको भूमि एकतर्फी रुपमा अतिक्रमण सह्य छैन’– मन्त्री बास्कोटाले भन्नुभयो । वार्ताको माध्यमबाट सिमा समस्या समाधान गर्ने 
    बनेपा नगरपालिकाको वडा नम्वर ४ मा वडा कार्यालय र नाला–काशिभञ्याङ्ग–कुन्ता सडक शिल्यान्यास तथा चण्डेश्वरी मावि नालाको विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सिमामा धावा नबोल्न र सरकारले कुटनितिक ढंगबाटै समस्या समाधान गर्न पहल गरेको बताउनु भयो । विद्यालयको भवन भुकम्प पछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्र्तगत शिक्षा मार्फत निर्माण भएको थियो । ४ कोठे पक्की भवन निर्माण सम्पन्न भए सगै विद्यालयलाई हस्तान्तरण गरिएको हो । 
    बनेपा नगरपालिका वडा नम्वर ४ ले आफ्नै वडा भवन निर्माण कार्य शुरुवात गरेको छ । मन्त्री बास्कोटाले उक्त भवनको शिल्यान्यास गर्दै स्थानीय सरकारले नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन भवनले अझै सहयोग पुग्ने बताउनु भयो । ‘प्रविधिमैत्री, नागरिकमैत्री र प्रशासकिय क्षमतामा कमि आउन नदिने गरी भवन निर्माण गर्नुपर्छ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘नगरले गर्ने सरसफाईमा कसैले राजनीति गर्नु हुँदैन ।’ पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेसका क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेले बनेपा नगरको फोहोर ब्यवस्थापनमा गरेको अवरोधका बारेमा मन्त्री बास्कोटाले तत्काल समस्या समाधानमा लाग्न अनुरोध गर्नु भयो । नगरपालिकाले शुरु गरेको फोहोर ब्यवस्थापनमा अवरोध गरे नागरिकले फोहोरकोे थुप्रो अवरोध गर्नेकै घर अगाडि ल्याएर थुपारी दिनुको विकल्प नभएको बताउनु भयो । वडा कार्यालय जिल्ला समन्वय समितिको कोषको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण शुरु गरिएको हो । ७० लाख रुपैयाँमा २ तल्ला पक्की भवन निर्माणका लागि यादवकृष्ण श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । 
    मन्त्री बास्कोटाले नाला–काशी भज्याङ्ग–कुन्ता सडक निर्माणका लागि वडा नम्वर ४ मा पर्ने महादेवखोला सडक पुल निर्माणको मन्त्री बास्कोटाले शिल्यान्यास गर्नुभयो । पूर्वाधार विकास कार्यालय अन्र्तगत निर्माण हुने उक्त पुल ६० मिटर लम्बाईको छ । ७७ लाख ६५ हजार रुपैयाको इष्टमेट रहेको उक्त पुल ६५ लाख ८२ हजारमा ठेक्का सम्झौता भएको छ । एकवर्षे अवधी रहेको उक्त पुल तीन महिनामै निर्माण सम्पन्न गर्ने गरी कार्य शुरु गरेको निर्माण कम्पनी सुमन निर्माण सेवाले जानकारी दिएको छ । आरसिसि बक्स ब्रिज पुलले सोहि क्षेत्र भएर चल्ने सवारी साधनको चापलाई धान्न सक्नेछ । 
    कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार बज्राचार्य, प्रा.डा उत्तमकृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक श्यामप्रसाद पाण्डेयले सञ्चालन गरेका थिए ।